यात्रुसँग बढी भाडा नलिन हवाई सेवा प्रदायकहरुसँग प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले यात्रुहरुसँग बढी भाडा नलिन हवाई सेवा प्रदायकहरुलाई आग्रह गरेका छन्।

हवाई भाडा अरुबेलाको भन्दा महँगो भएको गुनासो आएको भन्दै प्रधानमन्त्री ओलीले विपतको समयमा यात्रुहरुसँग सकेसम्म पहिलेको भन्दा सहुलियत मूल्यमा नभए पनि पहिलेको दरमा भाडा लिन वायु सेवा प्रदायकहरुलाई आग्रह गरेका छन्।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,’लगातारको वर्षा र बाढी पहिरोले सडक यातायात अवरुद्ध हुँदा अत्यावश्यक यात्रामा पनि अप्ठेरो परेको छ। हवाई भाडा अरु बेलाभन्दा महँगो भएको गुनासो सामाजिक सञ्जालमा सुनिएको छ। हवाई सेवा दिँदै आएका एयरलाइन्सहरूलाई यस्तो विपत्तिको समयमा यात्रुहरुसँग पहिलेभन्दा सहुलियत मूल्यमा या पहिलेकै दरमा भाडा लिएर सहयोग गर्नुहुन अनुरोध छ।’

देशमा आइपरेको विपत्तिको सबैले मिलेर सामना गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ। ‘नेपाल सरकार पर्यटन मन्त्रालयले पनि हवाई यात्रुको लागि र उद्धार उडानको लागि विशेष निर्णय गरेको छ। हामीमाथि परेको प्राकृतिक विपत्ति हामी सबै मिलेर सामना गर्नु पर्छ,’ प्रधानमन्त्री ओलीले भनेका छन्।

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन गएका प्रधानमन्त्री ओली हाल अमेरिकामा छन्।