धादिङकाे झ्याप्लेखाेलाको पहिरो पन्छाएपछि सडक दुईतर्फी खुला

धादिङ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको झ्याप्लेखोलामा खसेको पहिरो पन्छाएपछि सडक सुचारु भएको छ । आइतबार साँझ साढे ७ बजेदेखि दुईतर्फी राजमार्ग सुचारु भएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

सडक खुलेसँगै राेकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका उनले बताए । झ्याप्लेखोलामा पहिराे खसेर यात्रुवाहक सवारीसाधन पुरिँदा हालसम्म ३५ जनाको शव निकालिएको छ ।

शनिबार बिहान गएको पहिरोमा गाडीहरू पुरिएका थिए । उद्धारकर्ताहरूले आइतबार साँझसम्म ३५ जनाको शव फेला परेको जनाएका छन् । पहिरोमा बुटवलबाट काठमाडौंतर्फ आउँदै गरेको लु१ज ४५७८ नम्बरको विंगर जिप र चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको बा३ख १३४५ नम्बरको हायस पहिरोमा पुरिएको थियो । यस्तै गोरखाबाट काठमाडौंतर्फ आउँदै गरेको ना४ख २२७० नम्बरको यात्रुवाहक बस पनि पहिरोमा परेको थियो । यसैगरी बा१प १३८८ नम्बरको बससमेत क्षति पुगेको थियो ।

पहिरोमा पुरिएको विंगर जिपमा सवार ८ जना पुरुष, ५ जना महिला र एक जना बच्चा गरी १४ जना, हायसमा सवार १२ जना पुरुष र ४ जना महिला तथा बसमा सवार ५ जना पुरुष यात्रुहरू पहिरोमा पुरिएका थिए । पहिरोमा पुरिएकाहरूको सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले खोजी तथा उद्धार कार्य गरेको हो । सडक खुलेसँगै जामका बिच सवारीसाधन गन्तव्यतर्फ लाग्न थालेका छन् ।