बाढीपहिरोको कहर- मृतकको संख्या १९२ पुग्यो, ३० जना बेपत्ता

काठमाडौं – अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानमा परी हालसम्म एक सय ९२ को मृत्यु भएको छ भने ३० जना बेपत्ता भएका छन्।

प्राकृतिक विपद्‌मा एक सय ९४ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए।

गृहमन्त्रालयको आज बिहानसम्मको  विवरणअनुसार विपद्मा परी सबैभन्दा बढी काभ्रेपलान्चोकमा ५० जनाले ज्यान गुमाएका छन्। अझै १० जना बेपत्ता रहेका छन्।  धादिङमा ३९ जनाले ज्यान गुमाएका छन्। ललितपुरमा ३३, काठमाडौंमा १७, सिन्धुपाल्चोकमा १०,  मकवानपुर र दोलखामा ७/७ जनाको मृत्यु भएको छ।

भक्तपुर, पाँचथर र सोलुखुम्बुमा ५/५, झापा, धनकुटा, महोत्तरी, सिन्धुली र रौतहटमा २/२ तथा सप्तरी, उदयपुर, रामेछाप र इलाममा १/१ जनाको मृत्यु भएको छ।

पहिरोमा परी  प्रमुख सेनानी (कर्णेल) मिलन केसीको पनि ज्यान गएको छ।  पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेंसी–९, झ्याप्ले खोला खण्डमा मात्र पहिरोले बस र माइक्रोबस पुर्दा ३५ जनाको मृत्यु भएको छ। घाइते भएका ९६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

बाढीपहिरोपछि खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालन भई हालसम्म करिब चार हजार पाँच सयभन्दा बढी जनाको उद्धार गरिएको उनले बताए।

बाढीपहिरो प्रभावितलाई खाद्यान्नलगायत आपत्‌कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको जानकारी दिइएको छ।

सरकारले खोज, उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको छ। यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग खोल्न पहल भइरहेको पनि प्रवक्ता तिवारीले जानकारी दिए।