मधेश प्रदेशमा बाढीबाट तीनजनाको मृत्यु

धनुषा –हालैको अविरल वर्षासँगै आएको बाढीले मधेस प्रदेशको जनजीवन प्रभावित बनेको छ । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका अनुसार मधेसमा हालसम्म तीन जनाको मृत्यु भएको छ । प्रदेशको आठवटै जिल्लामा आठ जना घाइते भएका र उनीहरुको अवस्था सामान्य छ ।

मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सुभाष बोहराका अनुसार महोत्तरीमा दुई र सप्तरीमा एक गरी तीन जनाको मृत्यु भएको छभने सर्लाहीका एक जना बेपत्ता छन् । मृत्यु हुनेमा महोत्तरीको गौशाला नगरपालिका–८ कुसमारीका १६ वर्षीय रोहित साहको सोनी खोलाले बगाएर मृत्यु भएको छ भने सप्तरी बलान बिहुल गाउँपालिका–४ घर भई राजविराज नगरपालिका–८ मा बस्दै आएका आठ वर्षीय प्रिन्सकुमार साह मृत भेटिएका छन् ।

महोत्तरीकै बर्दिबास नगरपालिका–११ खयरमाराका २१ वर्षीय मानबहादुर थिङलाई खयरमारा खोलाले बगाएर मृत्यु भएको छ । सर्लाहीको बागमती नगरपालिका–९ स्थित सक्रोलका १५ वर्षीय मुकेश महतो सोती खोलाले बगाएर बेपत्ता छन् । रौतहटमा तीन, सिरहामा एक, सर्लाहीमा एक र बारामा तीन जना घाइते भएकामा उपचारपछि सामान्य अवस्थामा रहेको प्रहरी उपरीक्षक बोहराले बताए ।

त्यस्तै बेपत्ता हुनेमा महोत्तरीको लोहारपट्टी नगरपालिका–५ का ३८ वर्षीय जाविर अन्सारी, पर्साको सिर्सिया नदीमा आएको बाढीमा बगेर भारत विहार मोतिहारी जिल्लाका ३२ वर्षीय किशोर राउत र कमला नदीमा आएको बाढीको बेला दाउरा निकाल्ने क्रममा धनुषाको गणेशमान चारनाथ नगरपालिका–७ पोर्ताहाका ३५ वर्षीय सान परियार र उनकी श्रीमती माया रहेका छन् ।

प्रहरी उपरीक्षक बोहराका अनुसार यस प्रदेशमा ९६ घरपरिवारका चार सय ८८ जना विस्थापित भएका छन् भने बाढीमा फसेका ३५ जनालाई उद्धार गरिएको छ । प्रहरी उपरीक्षक बोहराले गौर कारागारमा वाग्मती खोलाको पानी पसेपछि १२ जना महिला थुनुवा/कैदीलाई नेपाल प्रहरीको जिल्ला प्रहरी कार्यालयको हिरासतमा सुरक्षित राखिएको बताए ।

त्यसैगरी धनुषा–सिरहाको सीमा अवस्थित कमला नदीमा आएको बाढीका कारण सिरहा र धनुषामा क्षति भएको छ । अविरल वर्षाले धनुषा–सिरहाको सीमा अवस्थित कमला नदीले विभिन्न स्थानमा क्षति पुर्‍याएको कमला नदी नियन्त्रण आयोजना धनुषाले जनाएको छ । धनुषाको कमला नगरपालिकाको हरिणेस्थित कमला नदीको ग्यावियन जालीको पर्खाल भत्किनुको साथै आरसिसी पर्खाल पनि भत्किएको छ ।

त्यस्तै कमला नगरपालिकाको हथमुन्डामा कमला नदी छेउमै निर्माण गरिएको बाँधको माथिल्लो भागमा क्षति भएको छ भने सोही नगरपालिका–५ स्थित लक्कडबाट फूलबरियासम्मको बाटो कटान भएको कमला नदी नियन्त्रण आयोजनाले जनाएको छ । त्यस्तै सबैला नगरपालिका–४ स्थित पटेर्वाबाट सबैला नगरपालिका–१३ स्थित ढोलबज्जासम्म कमला नदीले कटान गरेको छ । त्यस्तै सिरहाको कल्याणपुर नगरपालिका–५ स्थित भेडिया–भोक्राहा, चत्तरी, चिकना–निर्दनास्थित तटबन्धमा नजिक पनि कटान गरेको छ ।

त्यस्तै बाढीले सिरहा–५ स्थित मानपुरमा स्परको लन्चिङ बगाएको छ । सिरहा–१७ स्थित पटेर्वाबाट कल्याणपुर नगरपालिका–७ स्थित भेडियासम्म बाढीका कारण बाटो कटान गरेको जनाइएको छ । सिन्धुलीको दुधौली नगरपालिका–२ स्थित ज्यूदाही फाँटमा माटोको बाँध कटान गरेको छभने दुधौली नगरपालिका–९ स्थित जीतपुर टाडीमा तटबन्ध नजिक कटानले व्यापक क्षति भएको आयोजनाले जनाएको छ ।

महोत्तरीको रातु नदीमा आएको बाढीका कारण भङ्गाहा नगरपालिका–६ स्थित हतिसर्वा नजिक रहेको नदीको तटबन्ध भत्केको छ । सो तटबन्ध भत्किँदा बाढी गाउँतर्फ पसेको छ । त्यस्तै तटबन्ध बनाउन बाँकी रहेको हतिसर्वा, वनचौरीलगायत विभिन्न स्थानमा निर्माण गरिएका तटबन्धसमेत भत्केको छ । सो बाढी गाउँतर्फ जाँदा क्षति भएको जनाइएको छ ।