१८ वर्षपछि लेबनान प्रवेश गर्‍यो इजरायली सेना

निरन्तर हवाई आक्रमण गरिरहेको इजरायली सेना स्थल आक्रमणका लागि लेबनानी भूमिमा प्रवेश गरेको छ। इजरायल डिफेन्स फोर्स ९आईडीएफ०ले मंगलबार लेबनान प्रवेश गरेको जानकारी दिएको हो।

आईडीएफले दक्षिणी लेबनानमा हिजबुल्लाहको बाहुल्यता रहेको पूर्वाधारलाई ध्वस्त पार्न सीमावर्ती गाउँहरूमा सोमबार रातिबाटै भूमिगत अपरेशन सुरु गरेको जनाएको छ।

इजरायली सेनाले सीमानजिकका गाउँहरूलाई निशाना बनाएको बताएको छ। यहाँबाट हिजबुल्लाहले इजरायलमाथि आक्रमण गर्ने गरेको छ। आईडीएफले तालिमप्राप्त सैनिकहरूलाई आक्रमणका लागि खटाएको जनाएको छ। गुप्तचरका सूचनाका आधारमा यी आक्रमणहरू भइरहेको इजरायलले जनाएको छ। जहाँ स्थल सेनालाई इजरायली वायुसेनाले सहयोग गरिरहेको छ।

इजरायलले लेबनानमा स्थलगत कारबाहीका लागि अमेरिकाको समर्थन पाएको छ। अमेरिकी विदेशमन्त्री लोयड अस्टिनले इरानले इजरायलमाथि आक्रमण गरे गम्भीर परिणाम भोग्नुपर्ने बताएका छन्। यद्यपि, राष्ट्रपति बाइडेनले सोमबार इजरायल र लेबनानबीच तत्काल युद्धविराम हुनुपर्ने धारणा राखेका थिए।

समाचार एजेन्सी एपीका अनुसार सन् २००६ पछि इजरायली सेना लेबनानमा प्रवेश गरेको यो पहिलो पटक हो। उक्त समयमा इजरायल र हिजबुल्लाहबीच ३३ दिनसम्म युद्ध भएको थियो। जसमा ११ सयभन्दा बढी लेबनानी मारिएका थिए। इजरायलतर्फ भने ४९ नागरिक र १ सय २१ सैनिकको ज्यान गएको थियो।