प्रधानमन्त्रीले स्वीकारे बाढीपीडितको उद्धारमा सरकारको कमजोरी

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी, पहिरो र डुबानका कारण जनताले भोगिरहेको पीडालाई साझा राष्ट्रिय पीडा मानेर सहयोग गर्न आग्रह गरेका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित पत्रकार सम्मेलमा प्रधानमन्त्री ओलीले यो बेलामा जनताका पीडालाई साझा मानेर खोज, उद्धार, राहत र सहयोगमा साथ दिन आग्रह गरे ।

‘यो सरकारको मात्रै होइन, सिङ्गो समाजको दुःखको विषय हो । हामी सबै विपद्का घटनाबाट दुःखी छौँ’, उनले भने, ‘कतिपय संरचनागत त्रुटिका कारण पनि क्षति भएका छन् । आगामी दिनमा संरचना निर्माण गर्दा विपद्को सामना गर्न सक्ने र दीर्घकालीनरुपमा सबल संरचना बनाइनेछ ।’

प्रधानमन्त्री ओलीले सरकारको पूर्वतयारी भन्दा ठूलो मात्रामा विपद् आएकाले उद्धार र खोजमा कमजोरी भएको हुनसक्ने बताए । उनले आगामी दिनमा त्यस्ता कुरालाई सच्याउने प्रतिबद्धता पनि उनले जनाए ।

सरकारको योजना : दुई दिनभित्र खोज-उद्धार सकेर बाढीपहिरो पीडितलाई राहत

राज्य र समाजसँग भएका स्रोत, साधनको सक्दो उपयोग गरेर पुनर्निर्माण र पुनर्स्थापनामा सरकार खटिने पनि उनले बताए ।

प्रधानमन्त्री ओलीले घाइतेहरूको निःशुल्क उपचार गरिने बताए । विपद्पछि फैलन सक्ने सम्भावित रोगको रोगथाम र नियन्त्रणका लागि आवश्यक प्रबन्ध गरिएको उनले बताए ।

क्षतिग्रस्त खानेपानी, सडक, टेलिफोन, विद्युत् आदि सेवा सञ्चालनका लागि प्रक्रिया सुरु गरिएको पनि उनले जानकारी दिए ।

प्रधानमन्त्री ओलीका तर्फबाट मुख्यसचिव एकनारायण अर्यालले सरकारका कामको विवरण सुनाएका थिए ।

पछिल्लो विपद्का कारण दुई सय २४ को मृत्यु, २४ बेपत्ता र १५८ घाइते भएको पनि सरकारले जनाएको छ ।

उच्च जोखिममा रहेका चार हजार तीन सय ३१ जनालाई उद्धार गरी सुरक्षित स्थानमा पठाइसकिएको अर्यालले बताएका छन् ।

अविरल वर्षापछिको विपाद्‍बाट काभ्रेपलाञ्चोक, ललितपुर, धादिङ, काठमाडौँ, सिन्धुपाल्चोक, सिन्धुली र मकवानपुरसहित २१ जिल्ला बढी प्रभावित भएका छन् ।