देशभरबाट १७ हजार बाढि-पहिरो प्रभावितहरूको उद्धार : गृह मन्त्रालय

काठमाडौँ – गृह मन्त्रालयले मनसुन जन्य विपदबाट प्रभावित १७ हजार मानिसहरूलाई उद्धार गरिएको बताएको छ । सैनिक, सशस्त्र, प्रहरी तथा  स्वयंसेवकहरूबाट बिहीबार बिहानसम्म देशैभरबाट १७ हजार १२० जनालाई सकुशल उद्धार गरिएको गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) ऋषिराम तिवारीले जानकारी दिए ।

मनसुनजन्य विपद्मा परेका २२ जना अझै बेपत्ता छन् । बाढी र पहिरोबाट घाइते भएका १६९ जनाको विभिन्न अस्पतालहरूमा निःशुल्क उपचार भइरहेको छ ।  गृह मन्त्रालयका अनुसार हालसम्म काठमाडौँ उपत्यकाबाट २ हजार १५८ जना, कोशी प्रदेशबाट ९० जना, मधेस प्रदेशबाट ३५ जना, सबैभन्दा बढी बाग्मती प्रदेशबाट १३ हजार ६४० जनाको उद्धार गरिएको छ ।

गृहमन्त्री रमेश लेखकले खोज, उद्धार तथा राहत वितरणका साथै अवरुद्ध राजमार्ग खुलाउन सरोकारवाला निकाय एवं मन्त्रालयसित समन्वय गरिरहेको उनको सचिवालयले जनाएको छ ।  काठमाडौँ, ललितपुर, भक्तपुर, धादिङ, सिन्धुली लगायतका जिल्लामा विपदमा मृत्यु भएका मृतकका परिवारलाई आर्थिक सहायता बापत राहत रकम उपलब्ध गराउन थालिएको छ । घर भत्किएका परिवारलाई राहत रकम वितरण सुरु गरिएको छ ।