काठमाडौं – हेटौंडाबाट ८ किलो २४३ ग्राम ९७० मिलिग्राम सुनसहित दुई जना भारतीय पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा आज बिहान प्रहरीले हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटे चेकपोष्टस्थित पूर्व–पश्चिम सडकखण्डबाट सुनसहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०४७ प ७५०३ नम्बरको स्कुटरलाई जाँच गर्दा सुन फेला परेको थियो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उरीक्षक विश्वराज खडका समेतको कमाण्डमा खटिएको प्रहरी टोलीले उनीहरूलाई सुनसहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारतको महाराष्ट्रस्थित सांगली जिल्लाका २५ वर्षीय अभिषेक अजिनाथ कुटी र २७ वर्षीय राहुल भिट्टिहाल बाड रहेका छन् । उनीहरूले शरीका विभिन्न भागमा लुकाएर सुन ल्याएका थिए । बरामद सुनको बजार भाउ ११ करोड ४३ लाख ५७ हजार ८७८ रुपैयाँ रहेको प्रहरी उरीक्षक खड्काले बताए ।
बरामद सुन र पक्राउ परेका दुई जनालाई थप कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाउने तयारी भइरहेको उनले बताए ।