images

इरानको आणविक भट्टी बमले उडाइदिन ट्रम्पको इजरायललाई आग्रह

अमेरिकाका पूर्व राष्ट्रपति तथा आगामी निर्वाचनमा राष्ट्रपतिका उम्मेद्वार डोनाल्ड ट्रम्पले इरानले गरेको मिसायल आक्रमणको जवाफमा उसको आणविक भट्टी इजरायलले उडाइदिनु पर्ने बताएका छन्।

न्युज एजेन्सी एएफपीका अनुसार ट्रम्पले शुक्रबार नर्थ क्यारोलिनाको एक चुनावी क्याम्पियनका दौरान यस्तो धारणा राखेका हुन्।

यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले यदि इजरायलले इरानको न्युक्लियर क्षेत्रमा आक्रमण गरेमा अमेरिकाले साथ नदिने बताएका थिए। 

ट्रम्पले बाइडेनको यो भनाइको आलोचना गरे। उनले भने ‘मलाई लाग्छ बाइडेन गलत छन्। परमाणु हतियार हाम्रा लागि सर्वाधिक ठुलो खतरा हो। उनीहरूसँग चाँडैनै आणविक हतियार हुने छ। यसले हाम्रा लागि चुनौती खडा गर्ने छ।’ उनले अगाडि थपे ‘यदि इजरायलले के गरौँ भनेर सोधेको खण्डमा बाइडेनको जवाफ यो हुनु पर्थ्यो की पहिले उनीहरूको आणविक भट्टीमा बम फाल त्यसपछिको चिन्ता हामी लिन्छौ।’

टाइम्स अफ इजरायलका अनुसार बाइडेनले इजरायललाई शुक्रबार इरानको तेल भण्डारमा पनि आक्रमण नगर्न भनेका छन्। यद्यपि इजरायलले इरानमा आक्रमण गर्ने जनाउँदै आएको छ तर कसरी आक्रमण गर्छ भनेर केही खुलाएको छैन्। 

बाइडेनले पत्रकारहरूसँग इजरायल-इरान युद्ध हुन नदिनका लागि प्रयास गरिरहेको बताए। उनले शान्तिपूर्ण विकल्पका बारेमा प्रयास गरिरहेको बताए। मध्यपूर्वको युद्धले विश्वभर समस्या पैदान हुनेमा सचेत रहेको बताएका थिए।

पत्रकारहरूले इजरायलले अमेरिकी चुनावमा असर गर्ने उद्देश्यले युद्ध विरामको प्रस्ताव अस्वीकार गरेको हो? भन्ने प्रश्नमा बाइडेनले भने ‘कसैले पनि इजरायललाई मैले जस्तो साथ दिएका थिएनन्। नेतान्याहुलाई यो याद हुनु पर्छ। अर्को कुरा चुनावमा असर गर्ने उद्देश्य रहेको भन्ने कुरामा मलाई यकिन छैन्।’

अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुका अनुसार नेतन्याहूले पछिल्लो समय एक्लै आफ्नो निर्णय गरिरहेको र अमेरिका र युरोपियन राष्ट्रहरूले गरेको २१ दिनको युद्ध विरामको प्रस्ताव अस्वीकार गरेर निरन्तर आक्रमण जारी राखेको बताइएको छ।