काठमाडौं – नेकपा एकीकृत समाजवादीका असन्तुष्ट नेताहरूले अध्यक्ष माधवनेपाललाई महाधिवेशनको म्यान्डेट विपरीतका सबै कामकारबाही खारेज गर्न माग गर्दै ज्ञापन पत्र बुझाएका छन् ।
नेताहरू जीवनराम श्रेष्ठ, विजय पौडेल, हरि पराजुली लगायत नेताहरूले पार्टी कार्यालयमा अध्यक्ष नेपाललाई भेटेर केन्द्रीय कमिटी, पोलिटब्युरो र पदाधिकारी खारेज गर्न माग गरेका हुन्।
उनीहरुले पार्टी विभाजन रोक्नलाई यस्तो आग्रह गरेको जिकिर गरेका छन्। अध्यक्ष नेपाललाई बुझाएको ज्ञापनपत्रमा ३४४ सदस्यीय केन्द्रीय कमिटी, पदाधिकारी र पोलिटव्युरो कमिटी समेत अवैध रहेकाले खारेज गर्नुपर्ने उल्लेख छ ।
पत्रमा भनिएको छ, ‘प्रस्तावित सदस्यहरुलाई समर्थन गर्ने नगर्ने अधिकार महाधिवेशन प्रतिनिधिमा अन्तर्निहित हुन्छ भन्ने हेक्का नराखी जुन प्रकारले २९९ जनाको केन्द्रीय कमिटी बनाउने भन्दै हलको म्यान्डेट विपरीत ३२२ जनाको केन्द्रीय कमिटी बनाइयो र राम्रा अनि योग्य भन्दा पनि आफ्ना बनाउने कार्य भयो। त्यसले तलको पङ्क्तिमा एक प्रकारको खैलाबैला मच्चाएको छ । ’
महाधिवेशनको सम्पूर्ण प्रक्रियामा विधि र प्रक्रियाको गम्भीर उल्लङ्घन भएको पनि ज्ञापनपत्रमा उल्लेख छ।
त्यसका लागि महाधिवेशनको म्यान्डेट विपरीत गरिएका सबै काम कारबाही खारेज गर्नु पर्ने र पार्टीभित्र उत्पन्न परिस्थितिबारे गम्भीर समीक्षा गरी पार्टीको विकास र विस्तार गर्न तत्काल केन्द्रीय कमिटी बैठक बोलाउन पनि माग गरिएको छ ।