निर्मला कुर्मीको पक्षमा न्याय माग्ने रुबी खानलगायतलाई प्रहरीले लियो नियन्त्रणमा

काठमाडौ – निर्मला कुर्मीको न्यायका लागि ६३ दिनदेखि माइतीघर मण्डलामा धर्ना तथा आन्दोलन गरिरहेका अभियन्ता रुबी खान लगायतलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

उनीहरूलाई माइतीघर मण्डलाबाट बानेश्वर जाने क्रममा काठमाडौँ जिल्ला अदालतबाट सिंहदरवार निषेधित क्षेत्र प्रवेश गर्न खोज्दा प्रहरीले नियन्त्रणमा लिएको हो।  

कुर्मीको न्यायका लागि उनीहरुले दसैँका दिन पनि धर्ना कार्यक्रम राखेका छन्। यसअघि कुर्मीको हत्याका मुख्य आरोपी बादशाह कुर्मीलाई लुम्बिनी प्रदेशमन्त्री बनाएको भन्दै उनीहरूले विरोध गर्दै आएका थिए। तर अहिले भने शाहले पदबाट राजिनामा दिइसकेका छन्।

बाँकेको नेपालगञ्ज–१७ की निर्मलाका श्रीमान्‌को२०६२ मा मृत्यु भएको थियो। श्रीमान्‌को मृत्युको चार वर्षपछि २०६६ मंसिरमा कुर्मीका दुई छोराको १० दिनको अन्तरालमा रहस्यमय तवरमा मृत्यु भएको थियो। श्रीमान् र छोराको मृत्युपछि कुर्मीको घरजग्गा सुरक्षित राखिदिन्छु भन्दै बादशाह कुर्मीले लालपूर्जा र निर्मलाको नागरिकता लिएका थिए।

त्यसपछि ०७५ मा निर्मला बेपत्ता भइन् र उनको नाममा रहेको घरजग्गा पनि अरुको नाममा सारिएको थियो। अपहरण पछि कुर्मीको हत्या गरेको भन्दै नेपाली कांग्रेसका नेतासमेत रहेका बादशाह कुर्मीविरुद्ध उजुरीसमेत परेको छ।

अधिकारकर्मी रुबी खानसहितले निर्मला कुर्मीले न्याय पाउनुपर्ने मागसहित ०७८ असोजमा नेपालगञ्जदेखि काठमाडौंसम्म पैदल यात्रा गरेका थिए।