images

एमालेले कीर्तिपुर-२ मा नयाँ केन्द्रीय कार्यालय बनाउने, भोलि शिलान्यास

काठमाडौँ – सत्तारुढ दल नेकपा एमालेले पार्टीको नयाँ केन्द्रीय कार्यालय भवन निर्माण गर्ने निर्णय गरेको छ। बिहीवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टीको सचिवालय बैठकले सो निर्णय गरेको हो।

बैठकका निर्णय सुनाउँदै पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले २०७२ सालको विनाशकारी भूकम्पपछि काठमाडौँ महानगरपालिका-१४ मदननगर बल्खुमा रहेको एमाले पार्टी केन्द्रीय कार्यालय ध्वस्त भएको र त्यसयताका ९ वर्ष विभिन्न ठाउँमा भाडामा बस्दै आएको बताए।

च्यासलस्थित पार्टी कार्यालयमा पनि २/३ पटक बाढीको सामना गर्नुपरेकाले यो स्थिति अन्त्य गर्न स्थायी रुपमा भवन निर्माण गर्ने निर्णय पार्टीले गरेको उनले बताए।

भोलि (शुक्रवार) दिउँसो १२:२५ मिनेटमा कीर्तिपुर नगरपालिका-२ मा रहेको घडेरीमा मदन भण्डारी स्मृति भवनको नाममा नेकपा एमालेको पार्टी केन्द्रीय कार्यालय भवनको शिलान्यास हुने जानकारी उनले दिए।

बैठकले विपद्पछिको पुनःनिर्माण, पुनःस्थापना र राहत कार्यमा जुट्न पार्टीका नेता/कार्यकर्ता र जनप्रतिनिधिहरुलाई आह्वान गरेको छ।

समाजमा निराशा, हतास मनस्थिति, नकारात्मक विद्वेष फैल्याउने प्रवृत्तिहरु छुटपुट देखापरेकाले देश बन्छ भन्ने आत्मविश्वास र देश विभिन्न सन्दर्भमा बनिरहेको छ भन्ने सकारात्मक सन्देश र लोकतन्त्र, गणतन्त्र, संविधान र परिवर्तनको पक्षमा दृढतापूर्वक उभिन पार्टी पंक्तिलाई आह्वान गर्ने निर्णय भएको उनले बताए।

बैठकले आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा पार्टीलाई जिताउन आगामी कात्तिक २२ गतेसम्म तल्ला कमिटीहरुले त्यससम्बन्धी आवश्यक निर्णय गरेर केन्द्रीय कार्यालयमा पठाइसक्न आह्वान गरेको छ।

उपनिर्वाचन हुने ठाउँमा सम्बन्धित ठाउँको पार्टी कमिटी र त्यस वरपरका कमिटीले समेत सक्रिय रुपमा परिचालित भएर कामको नेतृत्व प्रदेश कमिटीले गर्नेगरी उपनिर्वाचनमा नेकपा एमालेको विजयलाई सुनिश्चित गराउन तदनुरुप तयारी गर्न आह्वान गरेको बताए।

‘विपद्पछिको पुनःनिर्माण, पुनःस्थापना, केही ठाउँमा राहतका र खोजिकार्यका कामहरुसमेत बाँकी रहेको हुनाले पार्टी, संगठन, कार्यकर्ता र जनवर्गीय संगठनका साथीहरु, जनप्रतिनिधि सबैलाई यो बाढी प्रभावित क्षेत्रमा स्वयंसेवी भूमिकामा निरन्तर लागिरहन, बाढीपीडितलाई बढीभन्दा बढी सहयोग उपलब्ध गराउन, उहाँहरुको पीडामा थोरै भएपनि मल्हम लगाउन निरन्तर लागिरहन आह्वान गरेका छौँ‚’ उनले भने, ‘समाजमा निराशा, हतास मनस्थिति, नकारात्मक विद्वेष फैल्याउने जुन प्रवृत्तिहरु छुटपुट देखापरेका छन्। त्यसैले सिंगो पार्टीपंक्ति देश बन्छ भन्ने आत्मविश्वास र देश विभिन्न सन्दर्भमा बनिरहेको छ भन्ने सकारात्मक सन्देश र लोकतन्त्र, गणतन्त्र, संविधान र परिवर्तनको पक्षमा दृढतापूर्वक उभिन पार्टी पंक्तिलाई आह्वान गरेका छौँ।’

पार्टीले वडा दशैँको अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपालीलाई सुख, शान्ति, आरोग्य र समृद्धिको कामना गरेको छ।