images
images

वैदेशिक, रोजगार, सामाजिक सुरक्षा कोष लगायतका विषयमा घनीभूत छलफल;आठौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन

ओमन । आठौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन बिहीबारबाट ओमनको मस्कटमा सुरु भएको छ । ‘अनिवार्य सामाजिक सुरक्षा र सम्मानित वैदेशिक रोजगार रेमिट्यान्सको सही लगानी राष्ट्र निर्माणको आधार’ भन्ने मूल नारासहित गैर आवासीय नेपाली सङ्घको मध्य पूर्व क्षेत्रीय परिषद्को मुख्य आयोजना र राष्ट्रिय समन्वय परिषद् ओमानको अतिथ्यतामा ओमानको मस्कटस्थित होटेल मस्कट होलिडेमा आयोजित सम्मेलनको  माननीय,उपप्रधानमन्त्री तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काले उद्घाटन गरे ।

सम्मेलनको पहिलो दिन बुधबार उद्घाटन सत्रसहित गैर आवासीय नेपाली सङ्घको साङ्गठनिक एवं राष्ट्रिय समन्वय परिषद्को बारेमा छलफल भएको छ। यस्तै, दोस्रो र तेस्रो दिन क्रमशः वैदेशिक, रोजगार, सामाजिक सुरक्षा कोष लगायतका विषयमा विभिन्न सत्रमा घनीभूत छलफल हुनेछ ।

मुख्यतया, मध्य पूर्वमा रहेका नेपाली श्रमिकका सवाल, राष्ट्रिय अर्थतन्त्रमा ओझेलमा परेको उनीहरूको योगदान, श्रमिक र उनीहरूका परिवारको जीवनमा तात्त्विक परिवर्तन हुन नसकेको परिस्थिति, वैदेशिक रोजगारीको सामाजिक र पारिवारिक प्रभाव, सुरक्षित आप्रवासन, नीति तथा कार्यान्वयन, मध्यपूर्वमा कार्यरत श्रमिक र उनीहरूको परिवारको मानसिक तथा शारीरिक स्वास्थ्य, मध्यपूर्वमा रहेका श्रमिक तथा स्वरोजगारमा रहेका नेपालीको मताधिकार, वैदेशिक रोजगारीमा जाने युवाका लागि भाषा, सीपमूलक तालिम, फर्केर आएका युवा–युवतीका लागि उद्यममा लाग्न प्रोत्साहन तथा समाजमा पुनःस्थापना, पुर्न एकीकरण र समायोजन, सामाजिक सुरक्षा कोषमा आबद्धता, अनिवार्य सामाजिक सुरक्षा र सम्मानित वैदेशिक रोजगार, रेमिट्यान्सको सही लगानी लगायतका मुख्य एजेन्डामा छलफल हुनेछ ।

विदेशस्थित नेपाली नियोगमार्फत विदेशमा श्रम स्वीकृति एवं अनुगमनको व्यवस्था, श्रम स्वीकृति कार्यान्वयन, श्रम सीप बैंकको स्थापना, कामदार र सरकारी निकायबीच समन्वय, वैदेशिक रोजगारीमा गएकाको लागि सञ्चय कोषको व्यवस्था गर्न यस सम्मेलनले नेपाल सरकारको ध्यानाकर्षण गराउनेछ । सम्मेलनमा गैर आवासीय नेपाली समुदायको आवाज उठाउने र उनीहरूका समस्याहरूको समाधानका लागि नेपाल सरकारसँग संवाद स्थापित गर्ने उद्देश्यले राखिएको छ । श्रमिकका मुद्दा सम्बोधनका लागि नेपाल सरकार तथा सरोकारवाला निकायको ध्यानाकर्षण गराउने उद्देश्यले आयोजना गरिएको यो सम्मेलन पूर्णतः श्रमिक केन्द्रित छ ।

सम्मेलनमा पूर्वउपप्रधानमन्त्री एवं सङ्घीय सांसदका माननीय सांसद रघुवीर महासेठ,वैदेशिक रोजगार विभागका महानिर्देशक मदन दाहाल, कार्यकारी निर्देशक द्वारिका उप्रेती, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव राम चन्द्र ढकाल, सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवाली, निर्देशक कृष्ण अधिकारी, मन्त्रालयका सल्लाहकार डा आभासकुमार लाभ लगायतको उपस्थिति रहेको छ यस्तै, नेपाली दूतावास, बहराइनका महामहिम राजदूत तीर्थ राज वाग्ले, नेपाली दूतावास, साउदी अरबका महामहिम राजदूत श्री नवराज सुवेदी, नेपाली दूतावास, कतारका महामहिम राजदूत डा। नरेश बिक्रम ढकाल, नेपाली दूतावास, ओमनका महामहिम राजदूत श्री डोरनाथ अर्याल अन्य सरोकारवाला निकायका पदाधिकारी, गैर आवासीय नेपाली सङ्घका अध्यक्ष, पूर्व अध्यक्ष, संरक्षक, पदाधिकारी, सदस्य लगायत विभिन्न मुलुकका एनसीसीका प्रतिनिधि, एनआरएनएका अभियन्ता तथा सञ्चारकर्मी लगायतको सहभागिता सम्मेलनमा  रहेको छ ।

सम्मेलनमा मध्यपूर्वसहित यूरोप, अमेरिका जापान लगायत विभिन्न मुलुकका करिब ५०० जना प्रतिनिधिको सहभागिता रहेको छ । मस्कट घोषणापत्र जारी गर्दै सम्मेलन शनिबार सम्पन्न हुनेछ ।