images

जिल्ला अदालत कास्कीका ७ न्यायाधीशमध्ये ६ जना बिदामा, कृष्णजङ्गको प्रतीक्षा

पोखरा – दशैंको बिदापछिको पहिलो दिनमा जिल्ला अदालत कास्कीका ७ जना न्यायाधीशमध्ये ६ जना अनुपस्थित बनेका छन् । उनीहरू सबैले एकै पटक घर बिदा लिएका हुन् ।

देशभरका अदालतहरूमा हिजो बिहीबारसम्म दशैं बिदा थियो । आज शुक्रवार परेकाले अदालतमा न्यायाधीशहरुको न्यून उपस्थिति देखिएको छ ।

सातै जनाले आज बिदा बस्ने जानकारी गराएका थिए । न्यायाधीशहरु नवराज दाहाल, हिमलाल बेल्बासे, भोलानाथ ढकाल, हरिप्रसाद कोइराला, चन्द्रकान्त पौडेल र नीतिज राई बिदामा बसेका छन् ।

न्यायाधीश शून्य हुने भएपछि अन्तिममा कृष्णजङ्ग शाहले आफू आउने जानकारी गराएका छन् । तर, उनी पनि १२ बजेसम्म आइपुगेका छैनन् ।

शाह नेपालगञ्जबाट जहाजमा आउनुपर्ने भएकाले ढिला भएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले बताए ।

जिल्ला अदालत कास्कीले आजै रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी गर्न सक्ने हल्ला चलिरहेको छ ।