images

सहकारी ठगीमा संलग्न नेताहरुलाई पक्राउ गर्न माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौँ  – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ, संसद्‌को सार्वजनिक लेखा समितिका सभापतिसमेत रहेका एमाले नेता ऋषिकेश पोखरेललगायतका व्यक्तिहरु सहकारी ठगीमा संलग्न रहेको भन्दै उनीहरुलाई पक्राउ गरी कारबाही गर्न गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ।

अभियन्ता युवराज सफलले आइतबार गृहमन्त्री रमेश लेखकलाई सहकारी ठगीमा संलग्नहरुलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गर्दै ज्ञापन पत्र बुझाएका हुन्।

उपसभापति गुरुङ ललितपुरस्थित मितेरी बचत तथा ऋण सहकारी संस्थाको १४ करोड रुपैयाँ प्रकरणमा मुछिएको र सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समितिले गुरुङमाथि अनुसन्धान गर्न सिफारिस गरेकोले करबाही गर्नुपर्ने माग गरिएको छ।

यस्तै, लेखा समितिका सभापति पोखरेल उमा गौरी कृषि सहकारीमा मुछिएको, रास्वपाका उपसभापति एवं प्रतिनिधिसभा सदस्य डिपी अर्याल हाम्रो नयाँ कृषि सहकारीमा मुछिएको भन्दै उनीहरुलाई पनि कारबाही गर्न ज्ञापनपत्रमार्फत माग गरिएको छ।

त्यस्तै, ज्ञापनपत्रमा रास्वपाका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीसमेत सहकारी ठगीमा संलग्न भएको र नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं सांसद् शक्ति बस्नेतसमेत हाम्रो नयाँ कृषि सहकारी संस्था लिमिटेडमा अनियमितता जोडिएकोले उनीहरुलाई पक्राउ गरी कानुनबमोजिम हदैसम्मको कारबाही गर्न उनले माग गरेका छन्।