काठमाडौं – गण्डकीको वन मन्त्रीमा कांग्रेसका भेषबहादुर पौडेल नियुक्त भएका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पौडेललाई वन मन्त्रीमा नियुक्त गरेका हुन् । उनको आजै दिउँसो शपथ हुने कार्यक्रम छ । पौडेल लमजुङको प्रदेश सभा (ख) बाट निर्वाचित सांसद हुन् ।
उनको नियुक्तिसँगै गण्डकी प्रदेश सरकारले पनि पूर्णता पाएको छ । स्वतन्त्र सांसद दिपक मनाङेलाई भौतिक मन्त्रालयबाट वनमा सारेपछि उनले मन्त्री पदबाटै राजीनामा दिएका थिए । मनाङेले छाडेको मन्त्रालयमा पौडेल आएपछि सबै मन्त्रालयले मन्त्री पाएको छ । गण्डकीमा ९ मन्त्रालय छन् । यसअघि ७ मन्त्रालय रहेको प्रदेशमा राजनीतिक भागबण्डा मिलाउन ७ मन्त्रालयलाई फुटाएर ९ पुर्याइएको थियो ।