काठमाडौं – क्रिएसन नेपालले मिसेस् नेपाल वर्ल्ड २०२४ का प्रतियोगीहरूलाई प्लास्टिक फोहोरमैला व्यवस्थापन तथा चक्रीय अर्थतन्त्रको बारेमा विशेष प्रशिक्षण दिएकाे छ ।
सोमबार आयोजित एक विशेष प्रशिक्षण सत्रमा विवाहित महिलाहरुबीचको सौन्दर्य प्रतियोगिता मिसेस् नेपाल वर्ल्ड २०२४ मा सहभागी भएका प्रतियोगीहरूलाई प्लास्टिकजन्य फोहोरमैला व्यवस्थापन र चक्रीय अर्थतन्त्रको विषयमा विशेष प्रशिक्षण दिइएको हो ।
प्लास्टिकजन्य फोहोर स्वास्थ्यको लागि कति हानिकारक हुन्छ, कति प्रकारका प्लास्टिकहरू हाम्रा वरिपरि छरिएर रहेका छन्, कस्ता प्लास्टिक प्रयोग गर्दा स्वास्थ्यलाई बढी हानि नोक्सानी गर्छ, प्लास्टिक पुनःचक्रण के हो ? कसरी यसलाई चक्रीय अर्थतन्त्रमा जोड्न सकिन्छ लगायतका विषयमा प्रशिक्षण सत्रले प्रतियोगीहरूलाई बुझ्न मद्दत पुग्ने सचिव कोइरालाले विश्वास व्यक्त गरिन । उनले सहभागीहरूलाई यस्ता गम्भीर विषयहरूको बारेमा जनचेतना फैलाउन समेत आग्रह गरिन ।
विश्वव्यापी रूपमा बढ्दो जलवायु परिवर्तनका असर तथा दिगो विकासका लक्ष्यहरू बारेमा ज्ञान प्राप्त गर्ने उद्देश्यका साथ क्रिएसनको कार्यालय भ्रमण तथा अवलोकन गर्न आएका प्रतियोगीहरूले प्रशिक्षणका दौरान प्राप्त गरेका ज्ञान भविष्यमा आ-आफ्नो ठाउँबाट वातावरण तथा पर्यावरण संरक्षणमा योगदान दिने बताए । उनीहरूले व्यवहारिक रूपबाट नै पर्यावरण संरक्षणका साथै दिगो विकासमा सहयोग पुर्याउनु पर्नेमा जोड दिएका थिए ।
प्रशिक्षणमा सहभागी भएका प्रतियोगीहरूले प्लास्टिकजन्य फोहोरमैला व्यवस्थापन र चक्रीय अर्थतन्त्रको बारेमा आ-आफ्नो स्थानबाट जनचेतना फैलाउन र क्रिएसनद्धारा सञ्चालन गरिने अभियानमा सहयोग गर्ने सामूहिक प्रतिबद्धता व्यक्त गरे ।
यस वर्षको प्रतियोगितामा गृहिणीदेखि डाक्टर, इन्जिनियर, बैंकर, मेनेजर, व्यवसायी, स्वास्थ्यसेवी, फेसन डिजाइनर, नर्स र २-२ पटक क्यान्सर जितेको महिलाहरू अन्तिम प्रतिस्पर्धाका लागि छानिएका छन् । यस वर्ष पनि मिसेस् नेपाल वर्ल्ड विजेताले अमेरिकामा हुने अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा मिसेस् वर्ल्डमा सहभागिता जनाउने अवसर प्राप्त गर्नेछिन् ।
रिवन इन्टरनेनमेन्टको आयोजनामा हुने मिसेस् नेपाल वर्ल्ड २०२४ का प्रतियोगिताहरूलाई विभिन्न क्षमता अभिवृद्धि प्रशिक्षणहरू प्रदान गरिएको छ । प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा अगामी कार्तिक १० गते राजधानीको कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ ।