images

मन्त्रिपरिषद बैठक स्थगित

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आज (सोमबार) का लागि बोलाइएको मन्त्रिपरिषद बैठक स्थगित भएको छ ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरवारमा ५ पाँच बस्ने गरी बोलाएको मन्त्रिपरिषद् बैठक दिउँसो अचानक स्थगित गरिएको हो ।

‘मन्त्रिपरिषद बैठक साँझ ५ बजे बोलाइएको थियो तर अहिले स्थगित भएको खबर आएको छ’, एक मन्त्रीले सुनाए, ‘कारण खुलाइएको छैन ।’  आजको मन्त्रिपरिषद् बैठकले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन सक्ने चर्चा थियो । त्यसका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि नै प्रयास गरे पनि सत्ता साझेदार दल नेपाली कांग्रेसले रिर्जर्भेसन राख्दै आएको थियो ।

आजको बैठक स्थगित हुनुमा पनि सोही कारण रहेको हुन सक्ने ती मन्त्रीले बताएका छन् । संसद अधिवेशन नभएको बेला प्रधानमन्त्री ओली अध्यादेश ल्याएर नेकपा एकीकृत समाजवादी र अशोक राई नेतृत्वको जसपालगायतका साना दल विभाजन गर्ने तयारीमा थिए ।  तर कांग्रेस सभापति शेरबहादुर देउवाले अध्यादेशमा जान नहुने अडान राखेपछि ओलीको उक्त योजना तत्काललाई असफल भएको बताइएको छ ।