रुपन्देही, ६ कार्तिक – दाङ भालुबाङकी आठ वर्षीया बालिका जबरजस्ती करणीमा परेको १२ दिन बितिसक्दा पनि प्रहरीले संलग्न व्यक्तिको पहिचान गर्न नसकेको भन्दै पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरेर विरोध प्रदर्शन गरिएको छ ।
घटना गत असोज २४ गते फूलपातीको दिन भएको थियो । सशस्त्र प्रहरी क्याम्प नजिक टाँगिएको पिङ्ग खेल्न पुगेकी ८ वर्षीया बालिका करणीमा परेको घटना सार्वजनिक भएपछि इलाका प्रहरी कार्यालय भालुबाङले घटनाको अनुसन्धान अघि बढाएको थियो ।
‘पीडित बालिका प्रहरीको संरक्षणमा छन् सँगै रहेकी अर्का एक १५ वर्षीया बालिकालाई पनि प्रहरी कार्यालयमा राखेका छौं । घटनाको अनुसन्धान प्रहरीले गरिरहेको छ’जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी ईश्वर थापाले भने,‘यो घटनालाई प्रहरीले गम्भीर रुपमा लिएको छ । सिआईवीको टोलीले समेत घटनाको अनुसन्धान गरिरहेको छ ।’
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो ( सिआइबी) को टीमले घटनाको अनुसन्धान गरिरहेको छ । प्रहरीले घटनाको अनुसन्धान अघि बढाएपनि अझैसम्म संलग्न व्यक्तिको पहिचान गर्न नसकेपछि स्थानीय आक्रोशित भएका हुन् । प्रहरीले घटनामा संलग्न व्यक्तिको पहिचान गरेर सार्वजनिक नगर्दासम्म संघर्ष जारी राख्ने स्थानीयको भनाइ छ ।
‘प्रहरी कार्यालयसँग निरन्तर छलफल गरिरहेका छौं । तर, प्रहरीले अझैसम्म संलग्न व्यक्ति पहिचान गर्न नसक्नु दुःखको कुरा हो । बालिकाको न्यायको लागि हामीले सार्वजनिक रुपमा दवाव श्रजना गर्न थालेका छौं’राप्ती उद्योग बाणिज्य संघका अध्यक्ष तथा संघर्ष समितिका संयोजक सुरज खड्काले भने,‘के कारणले हो अझैसम्म संलग्न व्यक्तिको पहिचान गर्न नसक्नु ? हामीले थालेको संघर्ष न्यायको संघर्ष हो ।’ घटनाको सत्यतथ्य छानविन गर्न माग राखिएको छ ।