काठमाडौं महानगरले माग्यो डाक्टरदेखि कार्यालय सहयोगीसम्म १०८ कर्मचारी (सूचनासहित)

काठमाडौं – काठमाडौं महानगरपालिकाले करार सेवामा काम गर्नको लागि स्वास्थ्यतर्फका विभिन्न पदमा १०८ जना कर्मचारी माग गरेको छ।

महानगरपालिकाले आज सूचना जारी गर्दै आफू मातहतको स्वास्थ्य विभाग अन्तर्गत रहेका सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रहरुमा करार सेवामा कामकाज गर्नको लागि जनशक्ति माग गरेको हो।

महानगरले आठौँ तहको मेडिकल अधिकृत (डाक्टर) पदमा चारजना माग गरेको छ। त्यसैगरी पाँचौँ तहको ल्याब टेक्निसियन २९ जना, फिजियोथेरापी असिस्टेन्ट ३२ जना, स्टाफ नर्स पाँचजना, फार्मेसी सहायक १० जना, रोडियोग्राफर एक, तथ्यांक सहायक एक र कार्यालय सहयोगी २६ जना गरी एकसय आठ जना कर्मचारी माग गरेको हो।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिन सक्नेछन्। अनलाइन प्रणालीमार्फत् पनि दरखास्त दिन सकिने सूचनामा उल्लेख छ।