images

‘ट्रु कलर’मा सीआईबी प्रमुखको नाम र फोटो राखेर फोन गर्दै धम्की दिने पक्राउ

काठमाडौं – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख दीपक थापाको नाम र तस्विर ‘ट्रु कलर एप’मा राखेर धम्की दिने युवकको अन्ततः पर्दाफास भएको छ ।

विभिन्न व्यक्तिलाई फोन गरेर आफू सीआईबी प्रमुख भएको भन्दै फोन गरेर धम्की दिने र पैसा समेत असुल्थे ।

प्रहरीका अनुसार विराटनगर निवासी ३० वर्षीय हेमकुमार खड्काले आफ्नो नक्कली पहिचान प्रयोग गरी धाकधम्की फैलाउने कुचेष्टा गर्दै आएका थिए ।
खड्काले सीआईबी प्रमुखको फोटो र नामलाई दुरुपयोग गर्दै, ठगी र डर सिर्जना गरेर वित्तीय संस्थाहरू र व्यक्तिहरूसँग लाभ उठाउने गरिरहेका थिए ।

खड्काले आफ्नो स्मार्टफोनमा दीपक थापाको नाम र फोटो राखी फोन गर्थे ।

उनले विभिन्न व्यक्तिहरू र वित्तीय संस्थाहरूलाई धम्क्याइरहेपछि जाहेरी परेको थियो । सीआईबीकै टोलीले उनलाई पक्राउ परेको हो ।

खड्का पक्राउ परेपछि सीआईबीका कर्मचारी, लोगोको दुरुपयोग गरी धाक धम्की दिनेबारे सूचना दिन पनि प्रहरीले आग्रह गरेको छ ।