काठमाडौँ, ८ कार्तिक – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले आगामी वर्षभित्र सबै समस्याग्रस्त सहकारीको समस्या समाधान गर्ने बताएका छन्।
बिहीवार मन्त्रालयले सय दिनको अवधिमा गरेका प्रमुख कार्य र उपलब्धिहरू सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री अधिकारीले आगामी वर्षभित्र पहिचान भएका २२ वटै समस्याग्रस्त सहकारीहरूको समस्या समाधान गर्ने बताए।
उनले २२ वटा समस्याग्रस्त सहकारीहरु मध्ये ३ वटा सहकारीको समस्या हल भइसकेको जानकारी दिए। यो वर्षभित्र बाँकी रहेका १० वटा सहकारीहरुको सम्पूर्ण समस्या समाधान गर्ने र बाँकी सहकारीहरुको आगामी वर्षभित्र समाधान गर्ने उनले बताए।
सम्बन्धित सहकारीहरुको सञ्चालक र पीडितहरुसँग समन्वय गरेर पीडितहरुको वचत फिर्ता गरिने उनको भनाइ छ। यद्यपि कसरी बचत फिर्ता गर्ने भन्नेमा भने नीति बनाउन बाँकी रहेकाले नीति बनाएर अगाडि बढ्ने उनले बताए।