images

प्रत्येक शुक्रबार केन्द्रीय कार्यालयमा सङ्घीय मन्त्री र प्रदेशमा प्रदेश मन्त्रीलाई उपस्थिति हुन लोसपाको निर्देशन

काठमाडौं – महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालले पार्टी कार्यालयको काम प्रभावकारी बनाउन दैनिक रुपमा सचिवालयका सदस्य उपस्थित हुनुपर्ने निर्णय गरेको छ ।

यही कात्तिक ६ गते बसेको केन्द्रीय सचिवालयल बैठकले आइतबार डा सुरेन्द्रकुमार झा, सोमबार डा आभाष लाभ, मङ्गलबार मनिषकुमार मिश्र, बुधबार विनोदकुमार सिंह, विहीबार ज्ञानेन्द्र झा, शुक्रबार निर्जला राउत र शनिबार पुष्पा ठाकुर र कविन्द्रनाथ ठाकुर पार्टी कार्यालयमा दैनिक रुपमा उपस्थित हुने निर्णय गरेको हो ।

बैठकले पार्टी सदस्यबाट लेबी उठाउन वरिष्ठ उपाध्यक्ष निर्जला राउत र महासचिव कविन्द्रनाथ ठाकुरलाई जिम्मेवारी तोकेको छ ।

लोसपाले स्वास्थ्य सेवा क्षेत्रसँग समन्वय गर्न उपाध्यक्ष एवं प्रवक्ता आभाष लाभ र महासचिव ज्ञानेन्द्र झा, निर्वाचन आयोगमा महासचिव डा सुरेन्द्रकुमार झा र कार्यालय सचिव प्रदीप पाठक, सुरक्षा निकायतर्फ महासचिवद्वय डा सुरेन्द्रकुमार झा र मनिषकुमार मिश्र, गैरसरकारी संस्थातर्फ उपाध्यक्ष पुष्पा ठाकुर, निजामती कर्मचारीतर्फ महासचिव विनोदकुमार सिंह तथा उद्योग वाणिज्य क्षेत्रतर्फ वरिष्ठ उपाध्यक्ष निर्जला राउत र महासचिव कविन्द्रनाथ ठाकुरलाई तोकेको छ ।

पार्टीले केन्द्रीय कार्यालय बबरमहलमा प्रत्येक शुक्रबार सङ्घीय मन्त्री र प्रदेश कार्यालयमा सम्बन्धित प्रदेशका मन्त्री पार्टीका नेता, कार्यकर्ता तथा आमनागरिकसँग भेटघाटका लागि उपस्थित हुनुपर्ने निर्णयसमेत गरेको अध्यक्ष ठाकुरले जानकारी दिए ।