images
images
images

स्याउ निर्यातमा कीर्तिमान: मुस्ताङबाट यस वर्ष ९२ करोड बढीको स्याउ निर्यात

म्याग्दी, ९ कार्तिक – स्याउको राजधानी भनेर चिनिने मुस्ताङले यस वर्ष स्याउ उत्पादनमा ऐतिहासिक वृद्धि गर्दै ९२ करोड रुपैयाँ भन्दा बढी आम्दानी गरेको छ। हिमालपारीको यस जिल्लाले हालसम्मकै बढी उत्पादन गर्दै स्याउ निर्यातमा कीर्तिमान कायम गरेको हो।

स्याउ उत्पादनमा ऐतिहासिक वृद्धि मुस्ताङका किसानहरूले यस वर्ष ७३३० मेट्रिक टन स्याउ उत्पादन गरेका छन्, जुन विगतको तुलनामा करिब ३५ प्रतिशतले बढी हो।

कृषि ज्ञान केन्द्र मुस्ताङका प्रमुख राजेश गुरुङका अनुसार, स्याउ फूल्ने र दाना लाग्ने समयमा अनुकूल मौसम भएकाले उत्पादनमा यो वृद्धि भएको हो।
“यस वर्षको प्रारम्भिक मूल्याङ्कन अनुसार करिब ९३ करोड बराबरको स्याउ निर्यात भएको छ,” गुरुङले भने।

स्थानीय र हाईब्रिड स्याउको महत्त्वपूर्ण भूमिका मुस्ताङमा ८० प्रतिशत स्थानीय र २० प्रतिशत हाईब्रिड स्याउको खेती हुँदै आएको छ। स्थानीय जातका स्याउ प्रतिकिलो ११० रुपैयाँमा बिक्री हुँदा हाईब्रिड स्याउ २०० रुपैयाँ प्रतिकिलोमा विक्री भएको छ।

यसबाट मुस्ताङले ८३ करोड रुपैयाँभन्दा बढी रकम भित्र्याएको छ। उच्च घनत्वका स्याउ खेती हुने क्षेत्रबाट मात्रै २५ करोड रुपैयाँ बराबरको स्याउ उत्पादन भएको कृषि अधिकारीहरूले जनाएका छन्।

उत्पादनको बिस्तार र निर्यात मुस्ताङमा स्याउ खेतीको विस्तार पनि तीव्र रूपमा भइरहेको छ। हाल १४१५ हेक्टर क्षेत्रफलमा स्याउ खेती भइरहेको छ भने ५८५ हेक्टर जमिनमा स्याउ फलेको छ। उत्पादन भएको ९० प्रतिशत स्याउ म्याग्दी, बागलुङ, पर्वत हुँदै पोखरा, नारायणगढ र काठमाडौँमा निर्यात हुने गरेको छ।

यो वर्षको स्याउ उत्पादनले मुस्ताङलाई अझ व्यावसायिक स्याउ खेतीतर्फ उन्मुख गराउँदै कृषकहरूको आयस्तरलाई बलियो बनाएको छ।