images
images
images

भिजिट भिसामा जाने ४ हजारभन्दा बढीलाई विमानस्थलबाटै फर्काइयो

काठमाडौँ । भिजिट भिसाको आवरणमा वैदेशिक रोजगारमा जाने क्रम बढेको भन्दै मानव बेचबिखन अनुसन्धान ब्युरोले अन्तर्राष्ट्रिय विमानस्थलमा कडाइ गरिरहेको छ।

पछिल्लो एक वर्षमा भिजिट भिसा लिएर वैदेशिक रोजगारमा जान लागेका चार हजारभन्दा बढीलाई विमानस्थलबाट फिर्ता पठाइएको विभागले जनाएको छ। यसमा पुरुषभन्दा महिला धेरै छन्।

भिजिट भिसामा जाँदा मानव तस्करीको जोखिममा पर्नसक्ने भन्दै २०७९ वैशाखयता ४ हजार १ सय ७३ जनालाई परामर्शसहित फिर्ता पठाइएको ब्युरोले जनाएको छ।

पछिल्ला केही महिनाको तथ्याङ्क हेर्ने हो भने भिजिट भिसामा विदेश  जाने क्रम लगातार बढेको देखिन्छ।

२०७९ माघमा भिजिट भिसामा वैदेशिक रोजगारका लागि हिँडेका १९३ महिला र ५७ पुरुष गरी २५० जनालाई फिर्ता गरिएको थियो। फागुनमा ३३१ महिला र २२६ पुरुष गरी ५५७ जनालाई र चैतमा ५२६ महिला र १२७ पुरुष गरी ६५३ जनालाई फर्काइयो।

यो वर्ष वैशाखयता मात्रै १ हजार ७ सय ११ जनालाई फर्काएको ब्युरोले जनाएको छ। तिनमा ६३५ पुरुष र १ हजार ७६ महिला छन्।

भिजिट भिसामा जाने धेरैलाई आफू कुन जान लागेको भनेर समेत थाहा नहुने एसएसपी श्रेष्ठले बताए। त्यस्तालाई सम्झाएर फर्काउने गरेको छ।

भिजिट भिसामा जानेहरूको मुख्य गन्तव्य खाडीमा युएई, ओमान, कतार, कुवेत र बहराइन हुन्छन्। युरोपेली देशमा सर्बिया, पोर्चुगल, टर्की, साइप्रस हुन्छन् भने अमेरिका जाने भनेर अजरबैजान, अफ्रिकी मुलुकहरू र दक्षिण अमेरिकी मुलुक पुग्ने गरेको पनि ब्युरोले जनाएको छ। म्यानमार, लाओस, कम्बोडिया र थाइल्यान्ड जानेहरू पनि प्रशस्तै छन्।

आर्थिक वर्ष २०७९/८० को माघदेखि भिजिट भिसामा वैदेशिक रोजगारका लागि दुबई, ओमान, कतार, कुवेत र बहराइन हिँडेका २ हजार १ सय ५ महिला र ९ सय ९६ पुरुष गरी ३ हजार १ सय १ जनालाई फर्काइएको छ।