images

एअर इन्डियाको विमानमा बम राखिएको हल्लामात्रै

काठमाडौं– एअर इन्डियाको जहाजमा बम रहेको भन्ने सूचना  हल्ला मात्रै भएको पाइएको छ। नेपाली सेना र नेपाल प्रहरीले गरेको चेकजाँचपछि एयर इण्डियाको जहाजमा बम रहेको भन्दै आएको सूचना गलत भएको पुष्टि भएको हो।

उपत्यका प्रहरी कार्यालय, रानीपोखरीकी प्रमुख एआईजी किरण बज्राचार्यका अनुसार विमानमा कुनै प्रकारको शंकास्पद  वस्तु फेला परेको छैन।

सोमबार अपराह्न २:४१ बजे अवतरण गरेको विमान फर्किने तयारीमा रहेका बेला बम रहेको भन्दै सूचना आएपछि प्रहरी र सेनाले जाँच थालेको थियो।

६ दिनअघि पनि दिल्लीबाट काठमाडौं आएको भारतीय वायुसेवा कम्पनी भिस्तारा एयरवेजको जहाजमा बम राखिएको भन्दै हल्ला फैलिएको थियो। तर, जाँच गर्दा त्यस्तो कुनै शंकास्पद वस्तु भेटिएन।

पछिल्लो समय भारतीय वायुसेवा कम्पनीहरुका विमानमा बम रहेको भन्दै पटकपटक गलत सूचना प्रवाह भइरहेको छ। यसले भारतको विमान सेवामै तनावको स्थिति सिर्जना गराएको छ।