images

नेपाल–भारत सिमानामा पर्खाल लगाऔँ, भिसा प्रणाली लागू गरौँ : वामदेव गौतम

काठमाडौँ,  १४ कार्तिक – राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नेपाल–भारत सिमाना बन्द गरेर भिसा प्रणाली लागू गर्नुपर्ने बताएका छन् । बुधबार राष्ट्रिय सभा अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सुपारीको उत्पादन र निकासीमा भएका समस्याका सम्बन्धमा छलफल गर्दै उनले यस्तो बताएका हुन् ।

गौतमले नेपाल–भारत खुला सिमानाका कारण नेपालमा उत्पादन भएका वस्तुहरू भन्सार बाहिरबाट भारतमा निर्यात हुने गरेको भन्दै सिमानामा पर्खाल लगाउनुपर्ने बताए । उनले सुपारी निर्यातको विषय सरकारले टुङ्ग्याउन नसक्नु सरकारको असक्षमता भएको उल्लेख गर्दै सरकारमा रहेका व्यक्तिहरू नै तस्करहरूसँग मिलेर काम गरिरहेका आरोप लगाए । उनले खुला सिमाना बन्द गर्दै भिसा प्रणाली लागू गर्नुपर्नेमा जोड दिए । 
गौतमले मानिसको आवतजावत पनि तोकिएको भन्सार नाकाबाट मात्रै हुनुपर्ने बताए । खुला सिमानाका कारण भारतबाट नेपालमा पसेर व्यक्ति हत्या समेत हुने गरेको भन्दै स्वतन्त्र देशको अवस्था यस्तो हुनु नहुने बताए ।