images

प्रगतिशील साहित्कार सरोज ओलीको ८४ वर्षको उमेरमा निधन

झापा- झापाका प्रगतिशील साहित्यकार तथा शिक्षासेवी सरोज ओलीको ८४ वर्षको उमेरमा निधन भएको छ।

अर्जुनधारा ८ निवासी ओलीको शुक्रबार दिउँसो ३.५७ बजे आफ्नै निवासमा निधन भएको हो। साहित्य लेखनमा चर्चित ओलीले २०५३ र २०७२ मा गरी दुईपटक राष्ट्रिय प्रतिभा पुरस्कार प्राप्त गरेका थिए।

त्यस्तै तीन वर्षअघि अर्जुनधारा नगरपालिकाले उनलाई दीर्घ साहित्य सेवा पुरस्कारबाट सम्मानित गरेको थियो। उनका १६ वटा कृति प्रकाशित छन्। उनका निबन्ध संग्रह, कविता संग्रह, उपन्यास र कथा संग्रह प्रकाशित छन्। उनी नेपाल प्रगतिशील लेखक संघको केन्द्रीय सदस्य र झापा अध्यक्ष भएका थिए।

उनले शनिश्चरे माध्यमिक विद्यालयमा ३३ वर्षसम्म अध्यापन गरेका थिए। विसं. १९९८ सालमा आठराराईको होडास्थित गैरीघरमा जन्मिएका ओलीले झापाको दोस्रो पुरानो हाइस्कुल शनिश्चरे माध्यमिक विद्यालयमा २०२९ सालदेखि ३३ वर्षसम्म शिक्षा सेवा गरेका थिए।

सेवा निवृत्त भएपछि पनि शनिश्चरे माविको व्यवस्थापन समितिको अध्यक्ष भएर सेवा दिएका थिए भने शनिश्चरे बहुमुखी क्याम्पसको उनी संस्थापक अध्यक्ष हुन्। उनले क्याम्पसमा ३ कार्यकाल सेवा प्रदान गरेका थिए।

सुगर र प्रेसरबाट ग्रसित उनलाई पछिल्लोपटक निमोनिया भएको थियो। १७ दिनसम्म बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार गरिएको परिवारजनले जानकारी दिएको छ।

उनका दुई छोरा र एक छोरी रहेका छन्।