भाइटिकाको दिन तेब्बर भाडा लिएको ‘इन्ड्राइभ’मा आज देखि फेरी सामान्य मूल्य

काठमाडौं, १९ कार्तिक – हिजो भाइटिकाको दिन तेब्बर भाडा लिएको राइडिङ सेयरिङ एप ‘इन्ड्राइभ’ले आज भाडा घटाएको छ ।

हिजो सामान्य भाडाको तुलनामा झन्डै तीन गुणा बढी लिएको उसले आज सामान्य अवस्थाकै मूल्य तोकेको छ ।

सोमबार पाटनढोका देखि चाबहिलसम्मको भाडा १ सय २५ रुपैयाँ देखाएको छ । जबकि आइतबार भाडा ३ सय ७५ थियो । इन्ड्राइभले अन्य प्लेटफर्महरूको तुलनामा सबैभन्दा महँगो भाडा लिएको थियो ।

१० किलोमिटर दूरीका लागि इन्ड्राइभमा २५०० रुपैयाँसम्म भाडा लिएको थियो । जुन दूरीमा पठाओमा १००० रुपैयाँ थियो ।

चाडबाडको समयमा इन्ड्राइभमा राइड गर्ने यात्रुहरूले सामान्य भाडाको तुलनामा झन्डै तीन गुणा बढी तिर्नुपरेको भन्दै गुनासो गरेका थिए । सामाजिक सञ्जालमा भाडा वृद्धिप्रति असन्तुष्टि व्यक्त गरिएका थिए ।

इन्ड्राइभ, जसले ग्राहकलाई भाडा बार्गेनिङ गर्ने सुविधा दिन्छ । तिहारको समयमा धेरै राइडरहरू घर गएपछि कम उपलब्ध राइडरले गर्दा भाडा अत्यधिक महँगो भएको बताइएको छ ।

दशैंमा राइडर कम थिए । यात्रुले राइडर नपाउने समस्या थियो । तिहारमा पनि यात्रुले राइडर नपाउनुभन्दा बढी भाडा तिरेरै गन्तव्यमा पुगुन् भनेर भाडा बढाएको हुनसक्ने अनुमान गरिएको छ ।