images

ऊर्जामन्त्री खड्का अन्तर्राष्ट्रिय सौर्य गठबन्धन सम्मेलनमा सहभागी

काठमाडौं, १९ कार्तिक – ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले भारतमा सुरु भएको अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए) सम्मेलनमा सहभागिता जनाएका छन् । उनी भारतको राजधानी नयाँदिल्लीमा आइतबारदेखि सुरु भएको सातौं गठबन्धन सम्मेलनमा सहभागी भएका हुन् ।

मन्त्री खड्का उक्त सम्मेलनमा भाग लिन आइतबार नयाँदिल्ली प्रस्थान गरेका थिए । सन् २०१५ मा फ्रान्सको पेरिसमा भएको संयुक्त राष्ट्र«सङ्घीय जलवायु परिवर्तन सम्मेलन (कोप- २१) को २१औं सत्रमा अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको घोषणा गरिएअनुसार उक्त गठबन्धनको सातौं सम्मेलनमा मन्त्री खड्का सहभागी भएको विद्युत् विकास विभागका महानिर्देशक नवीनराज सिंहले जानकारी दिए ।

कोप- २१ सम्मेलनमा भाग लिएका करिब १२० राष्ट्रका प्रमुखले सौर्य ऊर्जाको प्रवर्द्धनका लागि क्रियाशील गठबन्धनमा आफ्नो सहभागिता हुने प्रतिबद्धता जनाएका थिए । उक्त सम्मेलनमा विश्वभर ऊर्जा पहुँच बढाउन, ऊर्जा सुरक्षा सुनिश्चित गर्न र ऊर्जा विकासलाई निर्देशित गर्ने माध्यमको रुपमा सौर्य ऊर्जा प्रविधिको बढ्दो उपयोगबारे छलफल हुने महानिर्देशक सिंहले बताए ।

अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको अध्यक्ष, सह-अध्यक्ष, महानिर्देशकलगायत पदसहितको नयाँ कार्यसमिति चयन गरिनेछ । सम्मेलनले जलवायु परिवर्तन कम गर्न नेपालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिमा पेस गरेको दोस्रो राष्ट्रिय निर्धारित योगदान कार्यान्वयनमा सहयोग पुग्ने महानिर्देशक सिंहको भनाइ छ ।

सन् २०४५ सम्ममा कार्बन उत्सर्जन शून्यको लक्ष्य हासिल गर्ने नेपाल सरकारको प्रतिबद्धताअनुरुप सौर्य जस्ता स्वच्छ ऊर्जाको अधिकतम विकास एवं प्रवर्द्धनबाट स्वच्छ ऊर्जा सङ्क्रमण कार्यान्वयनमा सहयोग पुग्नेछ ।

विद्युतको माग र आपूर्तिबीचको सन्तुलन कायम गर्न सौर्य ऊर्जा विकासको माध्यमबाट ऊर्जा मिश्रणको सहायताले ऊर्जा सुरक्षा हासिल गर्न मद्दत पुग्ने बताइएको छ । सम्मेलनमा हरित विकास, जलवायु परिवर्तन र सौर्य ऊर्जा विकाससँग सम्बन्धित विश्वमा भएका सफल अभ्यास आदानप्रदान गरिनेछ ।

उक्त सम्मेलनमा ऊर्जामन्त्री खड्काले भारतका ऊर्जामन्त्री एवं आईएसएका अध्यक्ष प्रह्लाद वेंकटेश जोशीसँग भेट्ने कार्यक्रमसमेत रहेको छ । भेटमा नेपालको नवीकरणीय ऊर्जा क्षेत्रको विकासका विविध विषयमा छलफल हुनेछ । आईएसएले हाल नेपालको राष्ट्रिय सौर्य ऊर्जा रोडम्याप, सौर्य ऊर्जामार्फत स्वास्थ्य, शिक्षा, पर्यटनको सम्भाव्यता खोजी, सौर्य सिँचाइलगायतका विभिन्न सात कार्यक्रममा सहयोग गर्नेछ ।

उक्त सम्मेलनमा मन्त्री खड्कासँगै ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका वरिष्ठ ऊर्जाविज्ञ प्रवल अधिकारी, विद्युत विकास विभागका महानिर्देशक सिंह र मन्त्री खड्काका आर्थिक सल्लाहकार (अर्थविज्ञ) अमित श्रेष्ठलेसमेत सहभागी छन् । -रासस