सर्लाहीमा पोखरीमा डुबेको कारबाट निकालियो दुई जनाको शव

सर्लाही, २० कार्तिक – सर्लाहीमा पोखरीमा डुबेको कारबाट दुई जनाको शव निकालिएको छ । ईश्वरपुर नगरपालिका–२ मियाखोरस्थित पोखरीमा बयलबासबाट महोत्तरीको गौशालातर्फ जाँदै  गरेको लु २ च ६७५८ नम्बरको कार आज (मंगलबार) बिहान पोखरीमा खसेर डुबेको थियो ।

त्यसमा  सवार  तीन जनामध्ये महोत्तरीको गौशाला नगरपालिका–२ बस्ने अन्दाजी ३१ वर्षीय जनक यादव सकुशल निस्किएका थिए । गौशाला नगरपालिका–१० का अन्दाजी ३७–३८ वर्षीय कार चालक सुरेश महतो र सोनवा गाउँपालिका–८ का ३७ वर्षीय रामाकान्त ठाकुर मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

उनीहरूको खोजीका लागि महोत्तरीमा रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ताबाट गोताखोर परिचालन गरिएको थियो । उद्धार र खोजी कार्यका लागि सुरक्षा बेस सागरनाथबाट र इलाका प्रहरी कार्यालयबाट केशरजंगबाटसमेत सुरक्षा फौज खटिएको थियो । कार अनियन्त्रित भएर सडक छेउमा रहेको सरस्वती उच्च माध्यामिक विद्यालयको पोखरीमा खसेर डुबेको स्थानीयले जानकारी दिएका छन् । पोखरीमा डुबेको कार भने निकाल्ने प्रयास भइरहेको छ ।