images

स्थानीय तह उपनिर्वाचनको उम्मेदवार टुंग्याउन नेपाली कांग्रेसले तल्लो समितिलाई दियाे निर्देशन

काठमाडौं, २० कार्तिक – नेपाली कांग्रेसले मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनको उम्मेदवार टुंग्याउन गृहकार्य अघि बढाएको छ । कुनै दलसँग पनि चुनावी गठबन्धन नगरी एक्लै लड्ने निर्णय गरेको कांग्रेसले उम्मेदवार टुंग्याउनेबारे छलफल भइरहेको कांग्रेस स्थानीय तह समन्वय विभाग प्रमुख मधु आचार्यले बताए ।

उनले भने, ‘आजसम्ममा उम्मेदवारको नाम सिफारिस गर्न हामीले पार्टीको तल्लो समितिलाई निर्देशन दिएका छौं । कतिपय ठाउँमा सर्वसम्मत र सहमति नभएको ठाउँमा पार्टीले गरेको परिपत्रअनुसार तीन जनाको नाम सिफारिस भएर आउँछन् ।’

उनले तल्लो समितिबाट नाम आज आएपछि भोलि उपनिर्वाचन संयोजन समितिको बैठक बस्ने जानकारी दिए । कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्माको नेतृत्वमा स्थानीय तह उपनिर्वाचन २०८१ केन्द्रीय संयोजन समिति गठन गरेको छ ।

उम्मेदवारबारे भोलि दिउँसो ३ बजे बस्ने बैठकले आवश्यक निर्णय लिने विभाग प्रमुख आचार्यले बताए ।
उनले भने, ‘अधिकांश स्थानबाट उम्मेदवारको नाममा सर्वसम्मत हुन्छ भन्ने लागेको छ । नभएका ठाउँमा प्रक्रियागत रुपमा आएकाहरुको विषयमा भोलिको बैठकले आवश्यक छलफल गर्छ । नामहरुबारे छलफल गरेर हामी चाँडै टुंग्याउँछौं ।’

उपनिर्वाचन हुने अधिकांश क्षेत्र कांग्रेसले जितेको भएकाले आफ्नो क्षेत्र सुरक्षित गर्दै थप गर्नुपर्ने दबाबमा कांग्रेस छ । निर्वाचन संयोजन समितिमा सहमहामन्त्रीहरु महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्देम्बे, महेन्द्र यादव, जीवन परियार, प्रवक्ता डा. प्रकाशशरण महत, केन्द्रीय सदस्य पुष्पा भुसाल, मीन विश्वकर्मा, मधु आचार्य सदस्य र प्रकाश शर्मा सदस्य सचिव छन् ।