कांग्रेसका यी नेताले पाए उपनिर्वाचन समन्वयको जिम्मेवारी

काठमाडौं, २२ कार्तिक – नेपाली कांग्रेसले आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा आवश्यक समन्वय र सहजीकरण गर्ने नेताहरूलाई जिम्मेवारी तोकेको छ । महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वमा रहेको स्थानीय तह निर्वाचन संयोजन समितिको बुधबार सानेपामा बसेको बैठकले उपनिर्वाचनमा पार्टीका उमेदवारहरूलाई विजयी गराउन एकता, शालीनता र सक्रियताका साथ अघि बढ्ने निर्णय गरेको हो ।

मंसिर १६ गते हुने उपनिर्वाचनमा स्थानीय तहका ४४ पदका लागि निर्वाचन हुँदै छ । कांग्रेसका सम्बन्धित तहबाट उमेदवार सिफारिस गर्ने क्रम सुरु भइसकेको छ । बुधबारको बैठकले प्रदेश, जिल्ला र स्थानीय कार्यसमितिसँग आवश्यक समन्वय र सहजीकरण गरी उत्कृष्ट परिणाम ल्याउने जिम्मा दिएको हो ।

सहमहामन्त्रीलाई प्राथमिकतामा राखेर जिम्मेवारी तोकिएको छ । सहमहामन्त्रीहरू महालक्ष्मी उपाध्याय ‘डिना’ लाई वाग्मती प्रदेश, भीष्मराज आङ्दम्बेलाई कोसी, महेन्द्र यादवलाई मधेस, जीवन परियारलाई कर्णाली र गण्डकी प्रदेशको जिम्मेवारी तोकिएको छ । 

सहमहामन्त्रीबाहेक केन्द्रीय सदस्य एनपी साउदलाई सुदूरपश्चिम प्रदेशको जिम्मेवारी तोकिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । केन्द्रीय सदस्य पुष्पा भुसाललाई लुम्बिनी प्रदेश समन्वयको अतिरिक्त निर्वाचन आयोगसँग समन्वयको जिम्मेवारी तोकिएको छ ।

त्यसबाहेक पार्टीको केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीन विश्वकर्मालाई प्रचार प्रसार संयोजन तथा स्थानीय तह समन्वय विभागका प्रमुख मधु आचार्यलाई स्थानीय तह समन्वयको जिम्मेवारी दिइएको छ । केन्द्रीय सदस्य नानु बास्तोलालाई सचिवालय व्यवस्थापनको जिम्मेवारी तोकिएको छ ।

मंसिर १६ मा जिल्ला समन्वय समितिका प्रमुख दुई, नगरपालिकाका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त भएका पदमा उपनिर्वाचन हुँदै छ ।