रविलाई थप १३ दिन हिरासतमा राख्न अनुमति

पोखरा, २५ कार्तिक – सहकारीको रकम ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राखिने भएको छ।

आइतबार जिल्ला न्यायाधीश नवराज दाहालको इजलासले १३ दिन म्याद थप गरेको हो। सरकारी वकिलको कार्यालयमार्फत प्रहरीले २५ दिनको म्याद थपको माग गरेको थियो।

रवि कार्तिक २ गते काठमाडौँको वनस्थलीस्थित राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयबाट पक्राउ परेका थिए। कात्तिक ३ गते बिहानपख पोखरा ल्याइएकोमा कात्तिक ४ गते जिल्ला अदालत कास्की पेश गरिएको थियो।

पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई सुरुमा ६ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको थियो। त्यसपछि दोस्रो पटक ७ दिनको म्याद थपिएकोमा पछिल्लो पटक कात्तिक २० गते १० दिनको म्याद थपिएको हो।

रविसँगै गोरखा मिडिया नेटवर्कमा व्यवसायिक साझेदार बनेका पूर्वडिआईजी छविलाल जोशी, गितेन्द्रबाबु राई (जिबी) सँग मिलेर सूर्यदर्शन सहकारीको तीन करोड बढी अपचलन गर्ने गीता पछाइ र नेचर हर्ब्स इन्टरनेशनलका सञ्चालक रामबहादुर खनाललाई पनि १३ दिन म्याद थपिएको हो।