रवि लामिछानेलाई आजै रूपन्देही लैजाने तयारी

काठमाडौं, २५ कार्तिक – सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरीले आज रुपन्देही लैजाने तयारी गरेको छ।

२४ दिनदेखि कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई हिजो कास्की जिल्ला अदालतले थप १३ दिन हिरासत राख्न अनुमति दिएपछि रुपन्देही लैजाने तयारी गरेको हो।

पोखराको सूर्यदर्शन सहकारीको रकम हिनामिनामा संलग्न रहेको आरोपमा पक्राउ परेका लामिछानेमाथि बुटवलमा रहेको सुप्रिम सहकारीको रकम समेत हिनामिनामा संलग्न रहेको आरोप छ।

सोही सहकारीको रकम हिनामिनाको विषयमा अनुसन्धानका लागि उनलाई पक्राउ गर्न रुपन्देही जिल्ला अदालतले प्रहरीलाई अनुमति दिइसकेको छ।

कास्की प्रहरीसँगको समन्वयमा सोमबार साँझको जहाजबाट भैरहवा ल्याइने गरी प्रक्रिया अगाडि बढाइएको बताइएको छ। आज साँझसम्म प्रक्रिया ढिला भए भोलि बिहानको उडानबाट भैरहवा लैजाने तयारी छ।