उपनिर्वाचनमा सत्तारूढ दलसँग सहकार्य नगर्ने माओवादीको निर्णय

काठमाडौं, २६ कार्तिक – प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)ले आउँदो मंसिर १६ गते हुने उपनिर्वाचनमा सत्तामा रहेका पार्टीसँग सहकार्य नगर्ने निर्णय गरेको छ । सोमबार खुमलटारमा बसेको पार्टी पदाधिकारीको बैठकबाट सत्तामा नरहेका दलसँग सहकार्य गर्ने निर्णय गरिएको हो ।

“सत्तारूढ दलसँग सहकार्य गर्दैनौँ, अरूसँग स्थानीय तहमा आफ्नो अनुकूलतामा सहकार्य गर्ने निर्णय भएको छ । नभए एक्लै चुनाव लड्छौँ,” माओवादी केन्द्रका सचिव दीनानाथ शर्माले बाह्रखरीसित भने ।

माओवादीले नेकपा (एकीकृत समाजवादी)लगायत दलसँग सहकार्य गर्ने नीति लिएको छ । “केन्द्रबाटै छलफल त गर्दैनौँ, मिल्नेसम्म स्थानीयस्तरमा नै सहकार्य हुन्छ,” उनले भने ।

उमेदवारबारे तल्ला कमिटीले गरेका निर्णय पदाधिकारी बैठकबाट अनुमोदन गरिएको छ । स्थानीय तहका रिक्त ४२ स्थानमा आउँदो मंसिर १६ गते उपनिर्वाचन हुँदै छ ।