रवि लामिछाने भन्छन्: ‘खोरमा थुन्दैमा बाघ स्याल हुँदैन्’

बुटवल – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले ‘खोरमा थुनिँदैमा बाघ स्याल नहुने’ टिप्पणी गरेका छन् । पूर्व गृहमन्त्री समेत रहेका लामिछानेले जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीमा बयान दिएर बाहिरिने क्रममा समर्थकलाई बार्दलीबाट हात उठाउँदै संक्षिप्त प्रतिक्रिया दिएका हुन्।

लामिछानेलाई आजै पोखराबाट बयानको लागि त्यहाँ लगिएको हो । दिनभर जिल्ला सरकारी वकिल कार्यालयमा बयान दिएका लामिछानेले बाहिरिने क्रममा प्रहरीकै प्रतिक्रिया दिएका हुन् । उनलाई समर्थकले ‘रवि दाई चिन्ता नलिनुस्, हामी छौं’ भन्दै ढाडस दिएका थिए ।

प्रहरीले भने उनलाई नबोल्न आग्रह गर्दै उनलाई भित्र धकेलेका थिए । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा २६ दिनदेखि कास्की प्रहरी हिरासतमा राखिएको छ । लामिछानेलाई भैरहवा लगेपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तथा भैरहवा क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको थियो । रास्वपाका कार्यकर्ता र सुप्रिम सहकारीका बचतकर्ताको भैरहवाको बुद्धचोक, लुम्बिनी गेटलगायतको ठाउँमा रविको पक्ष र विपक्षबीचको प्रदर्शन समेत गरेका थिए । रास्वपाले सरकारले प्रतिशोध राखेर सभापति लामिछानेलाई हिरासतमा राखेको भन्दै देशभर आन्दोलन गरिरहेको छ ।