गण्डकीमा पनि एमाले–कांग्रेसको संयन्त्र, दुबैले सरकारको कामको प्रचार गर्ने

पोखरा – सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमालेबीच गण्डकी प्रदेशमा सत्ता सहकार्यलाई प्रभावकारी बनाउन प्रदेशस्तरीय दुई दलीय संयन्त्र गठन भएको छ ।

संयन्त्रमा कांग्रेसबाट मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहित प्रदेश सभापति शुक्रराज शर्मा र महामन्त्री विष्णुप्रसाद लामिछाने तथा एमालेबाट पूर्वमुख्यमन्त्री खगराज अधिकारी, प्रदेश इन्चार्ज किरण गुरुङ र अध्यक्ष नवराज शर्मा छन् ।आज नै संयन्त्र निर्माण गरी बैठक बसेको छ । बैठकले दुवै दलको सहमतिमा आलोपालो प्रणालीअनुसार संयोजन गर्ने, बैठकको व्यवस्थापन गर्ने निर्णय गरेको छ ।

यस्तै केन्द्रको निर्देशनानुसार संयन्त्र निर्माण गरी कार्य गर्न निर्देशन दिने, सहकार्यको आवश्यकतालाई जनसमक्ष पुर्‍याउने, आवश्यकताअनुसार सरकारलाई सुझाव दिने, सहयोग गर्ने र सकारात्मक कामको प्रचारप्रसार गर्ने निर्णय उक्त बैठकले गरेको छ ।