काठमाडौँ- नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउन संविधान संशोधन हुने बताएका छन्।
बुधवार काठमाडौँमा एक कार्यक्रममा सभापति देउवाले भारत लगायतका देशहरूमा पनि सोही व्यवस्था रहेको उल्लेख गर्दै उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने गरी संविधान संशोधन गर्ने सहमति भइसकेको बताए।
उनले भने, ‘संविधान संशोधन किन भनिरहेका छन्। यसमा एउटा कुरा भनिहालौँ। जस्तो उपराष्ट्रपतिको जस्तो भारतमा व्यवस्था छ, त्यस्तै उपराष्ट्रपति ल्याएर राष्ट्रिय सभाको अध्यक्ष बनाउने खास हाम्रो सल्लाह भएर नै संविधान संशोधन भनिएको हो।’
उनले प्रजातन्त्रको लागि आफू र प्रधानमन्त्री केपी शर्मा ओलीले जेल जीवन बिताउनुपरेको उल्लेख गर्दै प्रजातन्त्रकोविरुद्धमा संविधान संशोधन नहुने स्पष्ट पारे।
उनले भने, ‘अरु प्रजातन्त्रको खिलाफमा, प्रजातन्त्रलाई कमजोर बनाउने कुरा मै मान्दिनँ। धेरै लडेको मान्छे हो, प्रजातन्त्रको लागि, जेल परेको मान्छे हो। प्रधानमन्त्री केपी शर्मा ओली पनि प्रजातन्त्रको लागि लडेको मान्छे हो।’