images

काठमाडौंको दरबारमार्गमा आज एमालेको ‘शक्ति प्रदर्शन’

काठमाडौं – सत्तारुढ नेकपा एमालेले आज काठमाडौंमा जागरण सभामार्फत् ‘शक्ति प्रदर्शन’ गर्दैछ । देशमा केही भएको छैन भन्ने जबरजस्ती भाष्य बनाउँदै अराजकतावादीले निरासा छर्न खोजेको ठहरसहित सुशासन, मुलुकको समृद्धि र सुदृढ लोकतन्त्रको सन्देशका लागि कार्यक्रम आयोजना गरिएको एमालेले जनाएको छ ।

उपमहासचिव प्रदीप ज्ञवालीले लोकतन्त्र असान्दर्भिक भयो कि भन्नेका विरुद्ध जागरण अभियान भएको बताए । देश बन्दैछ, हामी बनाउँछौं भन्ने सन्देश जनतालाई दिनुपर्ने सरकारमा हुने दलहरूको जिम्मेवारी भएको उनको भनाइ छ ।

एमालेले जागरण सभामा कार्यकर्ता र समर्थक गरी एक लाख उतार्ने लक्ष्य लिएको छ । जागरणसभाका संयोजक स्थायी कमिटी सदस्य डा. राजन भट्टराईले उपत्यकाको ३ जिल्ला, जनसंगठन, सम्पर्क कमिटीसहितको उपस्थिति हुने भएकाले त्यति संख्या पुर्‍याउने दाबी गरे ।

यद्यपि, भट्टराई आईसीएपीपीको अधिवेशनमा सहभागी हुन कम्बोडिया उडेपछि अहिले बागमती अध्यक्ष कैलाश ढुंगेललाई उक्त जिम्मेवारी दिइएको छ ।

बुधबारको पत्रकार सम्मेलनमा भट्टराईले भृकुटीमण्डपमा तय गरिएको जागरण सभा ठाउँ सानो भएकोले दरबारमार्गमा गर्ने निर्णय गरिएको सुनाए । भद्रकालीबाट सुरू हुने जुलुस, न्युरोड गेट, वीर अस्पताल, रत्नपार्क घुमेर दरबारमार्गको सडकमा सभामा परिणत हुने उनले बताए ।

जुलुस र सहभागिता बढ्ने देखिएकाले पूर्वनिर्धारित स्थल भृकुटीमण्डपमा ट्राफिक व्यवस्थापनमा समस्या र सर्वसाधारणलाई मर्का पर्ने देखिएकाले फराकिलो र एउटा सडकमात्र प्रभावित हुने ठाउँ खोजिएको एमालेले जनाएको छ ।

जुलुस साढे ११ बजेबाट सुरू भई १२ बजे सभामा परिणत हुने बताइएको छ । सभाका प्रमुख वक्ता पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली छन् ।