वर्तमान सत्ता समीकरण आगामी निर्वाचनसम्म कायमै रहन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०८३ असारसम्म आफू प्रधानमन्त्री पदमा रहने दाबी गरेका छन् ।

एमालेको जागरण सभालाई सम्बोधन गर्दै उनले त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने बताएका छन् ।

ओलीले भने, “सरकार फेरबुअरीसम्म मात्रै टिक्छ भन्ने गलत हो ।  मेरो अवधि २०८३ असारसम्म हो । त्यसपछि देउवा प्रधानमन्त्री बन्नुहुन्छ, र यो समीकरण २०८४ को चुनावसम्म कायम रहनेछ ।”

दरबारमार्गमा आयोजित जागरण सभा भद्रकालीबाट सुरु भएको र्‍यालीका क्रममा सहिद गेट, सुनधारा, वीर अस्पताल हुँदै सभामा परिणत भएको थियो ।

समाजमा निराशा पैदा गर्नेहरूले फैलाएका भ्रम चिर्ने उद्देश्यले सभा गरेको एमालेले जनाएको छ ।

सरकार र प्रधानमन्त्रीमाथि भइरहेका ‘प्रहार’को प्रतिकारका लागि भन्दै शुक्रबार सडकमा उत्रिएको हो ।

‘जागरणसभा’ नाम दिइएको एमालेको प्रदर्शन ‘समाजमा निराशा पैदा गर्नेहरूले फैलाएका भ्रम चिर्ने’ उद्देश्यले आयोजना गरिएको दाबी गरिएको छ ।

१६ मंसिरमा स्थानीय तहको उपनिर्वाचन छ । पार्टीको पक्षमा जनमत निर्माण गर्न सभा गर्न लागेको एमालेको दाबी छ । एमालेको पक्षमा जनमत बनाउन शान्तिपूर्ण सभा गरेको दाबी गर्छन् ।