मुख्यमन्त्री कार्कीको झापा निवासमा शंकास्पद वस्तु, सेनाको बम डिस्पाेजल टाेली जाँदै

विराटनगर, ८ मंसिर – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको झापास्थित घर अगाडि शङ्कास्पद बस्तु फेला परेको छ ।

कागजमा पोको पारेर तार जोडिएको जस्तो देखिने बस्तु कार्कीको घर अगाडि सिरिसको रुखमुनी फेला परेको हो । उक्त कागजमा दुर्गा माताकी जय लेखिएको छ ।

हाल उक्त वस्तुलाई डिस्पोज गर्न झापाको चारआलीस्थित अरिदमन गणबाट नेपाली सेनाको डिस्पोजल टोली त्यसतर्फ लागिसकेको बताइएको छ ।

उक्त वस्तु कसले किन राख्यो भन्ने विषयमा पनि प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ ।

मुख्यमन्त्री कार्की आज बिहान विराटनगरबाट झापास्थित घर पुगेका थिए । घर नजिकैको पारिवारिक कार्यक्रममा सहभागी भएपछि उनी बाह्रदशी गाउँपालिकामा आयोजित कार्यक्रममा पुगेको मुख्यमन्त्री कार्कीका प्रेस सल्लाहकार बिक्रम लुइटेलले जानकारी दिए ।