images

समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द

काठमाडौँ, ८ मङ्सिर – नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले नेपाली विशेषताको समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम नलिने दृढता व्यक्त गर्नुभएको छ ।

नेत्रविक्रम चन्दको नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टीको ११औँ स्थापना दिवसका अवसरमा भृकुटीमण्डपमा आज आयोजित सभामा उहाँले ८० को दशकलाई राष्ट्रिय स्वाधिनता, समाजवाद निर्माणलाई केन्द्रित गरी आफ्ना कार्यक्रम र राजनीतिक गतिविधि अघि बढाउने धारणा राख्नुभयो ।

विगतमा नेकपा (माओवादी) मा रही नेपाली जनताको परिवर्तनको चाहना र न्यायका लागि गरेको योगदान इतिहास साक्षी रहेको बताउँदै महासचिव चन्दले देश र नेपाली जनताको सुख तथा समृद्धिका सधैँ काम गरिरहने विचार प्रकट गर्नुभयो ।

पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्माले विगतमा क्रान्तिको अगुवाई गरेका कतिपय कम्युनिष्ट पार्टीमा उतार–चढाव तथा विचलन आएपछि जनताको क्रान्तिको नेतृत्व आफ्नो पार्टीले गर्दैआएको बताउनुभयो ।

केन्द्रिय सदस्य माइला लामाले मुलुकको अस्थिर राजनीति र वेरोजगारलगायतकारण युवापुस्ता अध्ययन र रोजगारीका लागि विदेशिन बाध्य हुँदा गाँउघर खाली हुन पुगेको घटना सुनाउनुभयो ।

तत्कालीन नेकपा (माओवादी)बाट अलग भइ विसं २०७१ मा एउटा धारले महासचिव चन्दको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी गठन गरेको थियो ।

सभाअघि स्थापना दिवसका अवसरमा आयोजित झाँकिसहितको र्‍यालीले नगर परिक्रमा गरेको थियो भने सभामा महासचिव चन्दले पार्टीको झण्डोलन गर्नुभयो । रासस