images

रवि लामिछानेमाथि फेरि १५ दिन म्याद थप

काठमाडौं, ९ मंसिर – कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्न आइतबार १५ दिन म्याद थप गरेको छ । पूर्वगृहमन्त्री समेत रहेका लामिछानेलाई थप १५ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अदालतले अनुमति दिएको हो ।

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको कास्की प्रहरी उनलाई पाँचौँपटक म्याद थपका निम्ति अदालतमा पेस गरेको थियो ।

यसअघि, गएको कात्तिक २५ गते १३ दिन म्याद थप भएको थियो । उक्त म्याद सकिएपछि उनलाई आइतबार अदालतमा उपस्थित गराइएको थियो ।

काठमाडौंस्थित रास्वपा केन्द्रीय कार्यालयबाट कात्तिक २ गते पक्राउ परेका लामिछानेमाथि अनुसन्धान गर्न प्रहरीलाई अदालतले पहिलोपटक ६ दिन म्याद दिएको थियो । दोस्रोपल्ट सात, तेस्रोचोटि १० र चौथोपटक १३ दिनको म्याद दिइएको थियो ।

पाँचौँपल्ट म्याद थपपछि उनलाई काठमाडौं ल्याउने प्रहरीको तयारी छ । उनीसँगै पूर्वडीआईजी छविलाल जोशीलाई म्याद थपका निम्ति अदालत लगिएको थियो । पूर्वडीआईजी जोशीमाथि पनि १५ दिन म्याद थप भएको छ ।