आन्तरिक पर्यटकको रोजाइमा शे–फोक्सुण्डो

डोल्पा, १२ मङ्सिर – हाल यहाँको तापक्रम निरन्तर घटे पनि नीलो हीराका रूपमा परिचित देशको सबैभन्दा गहिरो शे–फोक्सुण्डो तालमा आन्तरिक एवं बाह्य पर्यटकको आगमन जारी छ ।

शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नुरेन्द्र अर्यालका अनुसार गत साउनदेखि कात्तिकसम्ममा स्वदेशी र विदेशी गरी एक हजार छ सय ३२ पर्यटक फोक्सुण्डो ताल क्षेत्रमा आएका छन् । बाह्य पर्यटकको तुलनामा आन्तरिक पर्यटक आउने क्रम जारी छ ।

बितेका पाँच महिनामा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) राष्ट्र र अन्य राष्ट्रका गरी तीन सय २६ जना पर्यटकले शे–फोक्सुण्डो घुमेका र त्यसबाट रु १० लाख ५३ हजार राजस्व सङ्कलन भएकोे उहाँले बताउनुभयो । चालु आर्थिक वर्षको सुरुदेखि कात्तिकसम्म वन पैदावार बिक्री, पर्यापर्यटन, दण्ड सजायलगायत शीर्षकबाट रु ६५ लाख ७० हजार छ सय ८८ राजस्व सङ्कलन भएको निकुञ्जले जनाएको छ ।

फोक्सुण्डो ताल, त्रिपुरासुन्दरी मन्दिर, शे–गुम्बा, धो तरापजस्ता सुन्दर धार्मिक तथा पर्यटकीय गन्तव्य डोल्पामै पर्ने भएकाले केही वर्षयता आन्तरिक पर्यटकको सङ्ख्या बढ्दै गएको त्रिपुरासुन्दरी नगरपालिका–१ का लक्ष्मण देवकोटाले बताउनुभयो । नेपालगञ्ज– डोल्पा उडान नियमित गरेमा, भेरी करिडोरको सुधार तथा सुविधायुक्त होटलको व्यवस्था भएमा पर्यटकको सङ्ख्या उल्लेख्य मात्रामा वृद्धि हुने उहाँ बताउनुहुन्छ ।

व्यापार, व्यवसाय प्रवर्द्धनका हिसाबमा डोल्पालीलाई विदेशीभन्दा स्वदेशी पर्यटक आउँदा फाइदा हुने सदरमुकाम दुनैका होटल व्यवसायीहरू बताउँछन् । नेपालगञ्ज–सुर्खेत–जाजरकोट–रुकुम हुँदै मोटरसाइकल र गाडीमा सजिलै दुनैसम्म पुग्न सकिने भएकाले पनि विमानमा भन्दा अघिकांश पर्यटक मोटरसाइकल चढेर यहाँ आउने गरेका छन् । रासस