images
images

सत्ताको छटपटीमा एमाले

काठमाडौं । संसद्को दोस्रो ठूलो एवं प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) मा सत्ताको छटपटी देखिन थालेको छ । नेकपा (माओवादी केन्द्र) लाई नेपाली कांग्रेससँगको गठबन्धनबाट टुटाएर आफ्नै सहयोगमा प्रधानमन्त्रीको जिम्मेवारी सुम्पिएको एमालेले माओवादीकै कारण संघीय सरकार हुँदै सातवटै प्रदेश सरकार गुमाउनुपरेपछि यस्तो छटपटी देखिएको हो ।

सातै प्रदेशबाट बाहिरिन पुगेको एमाले संवैधानिक तहबाट पनि बाहिरिने अवस्था आउन लागेपछि अझै अत्तालिएको छ । गत पुस १० गते नयाँ समीकरणका साथ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाएका एमालेका अध्यक्ष केपी शर्मा ओली प्रचण्डबाट धोका पाएपछि अहिले कांग्रेसलाई नै प्रधानमन्त्रीको प्रस्ताव गर्ने तहमा पुगेका छन् ।

मुलुकका दुई ठूला दल मिलेर सरकार बनाउँदा अन्य बिचौलिया दलहरूलाई बाहिर राख्न सकिने भन्दै कांग्रेसलाई अघि सारेर सरकारमा जाने एमालेको दाउ छ ।

ओलीले सत्ता राजनीतिका माहिर खेलाडी कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा सहयोग गर्ने लालच दिनसम्म भ्याइसकेका छन् । पूर्वप्रधानमन्त्री ओलीलाई सत्ताबाहिर रहनुपरेको पीडाले पिरोल्न थालेपछि नयाँ कोर्सको अभ्यास गर्न खोजेकोे गठबन्धन दलका नेताहरूले बताएका छन् ।

कांग्रेसका एक सांसदले भने– ‘अहिले सरकार परिवर्तन र गठबन्धन फेरबदलको कुनै सम्भावना छैन । प्रधानमन्त्रीको प्रस्तावलाई स्वीकार गरेर गठबन्धन परिवर्तन गर्ने पक्षमा कांग्रेस छैन । एमालेका नेताहरूले सत्ताबाहिर रहनुपर्दाको पीडालाई मल्हम लगाउन केही उपाय निस्किहाल्छ कि भनेर प्रधानमन्त्रीको प्रस्तावको हल्ला गरेका मात्रै हुन् ।’ यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।