images

महोत्तरीको रामगोपालपुरमा स्थानीय निर्वाचनको चहलपहल बढयो

महोत्तरी, १२ मङ्सिर – आगामी आइतबार रामगोपालपुर नगरपालिका–२ मा वडाध्यक्षको निर्वाचन हुँदैछ । मतदातालाई आफ्नो पक्षमा पार्न उमेद्वारहरू मतदाताका घरआँगनमा पुगेका छन् ।

आसन्न चुनावले उक्त वडामा चहलपहल बढाएको छ । मौन अवधि प्रारम्भ हुनु अगावै प्रचारप्रसारमा जुटेका उनीहरूले मधेस मामिला उजागर गर्दै विभेदविरुद्ध उभिएको र विकास–निर्माणलाई नै केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता मतदातासमक्ष व्यक्त गरिरहेका छन् । यहाँ दलका सात र स्वतन्त्र ११ गरी १८ जना उमेद्वार मैदानमा छन् ।

यसअघिको निर्वाचनमा विजयी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) चुनाव जित्नैपर्ने दबाबमा छ । गत भदौमा दुर्घटनामा ज्यान गुमाएका मुकेशकुमार यादवकी पत्नी आइतीकुमारीलाई उक्त पार्टीले उमेद्वार बनाएको छ । नेपाली कांग्रेसका मोहम्मद जनिफ खाँ आसन्न उपनिर्वाचनमा आपूm जित्ने दाबी गर्नुहुन्छ ।

अघिल्लो निर्वाचनमा ५८ मतले पारजित उहाँ यसपटक मतदाताले आफूलाई जिताउनेमा ढुक्क हुनुहुन्छ । सोही निर्वाचनमा तेस्रो स्थानमा रहनुभएका जनता समाजवादी पार्टीका सकिबुल खान यसपटक नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उमेद्वार हुनुहुन्छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय जनता पाटीबाट त्रमशः मोहम्मद मनान खान, र खुरसेद खान तथा राजेशकुमार यादव उमेद्वार हुनुहुन्छ । यसअघि मुकेशकुमार यादवले ४३३, जनिफ खानले ३७५, जसपाका सकिवुल खानले ३४२ र एमालेका कादिर हुसैनले २८७ मत प्राप्त गर्नुभएको थियो ।

सो वडामा हाल एक हजार २०१ पुरुष र ९४० महिलासहित दुई हजार १४१ मतदाता कायम रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । रासस