एमसीसीको २९७ किमि विद्युत् प्रसारणलाइनको पुनः आह्वान

काठमाडौं,  १२ मंसिर – मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति ९एमसीए–नेपाल०ले २९७ किलोमिटर विद्युत् प्रसारणलाइन निर्माणका लागि बोलपत्र पुनःआह्वान गरेको छ । यसअघिको बोलपत्रमा लागत बढी परेको भन्दै रद्ध गरेको एमसीसीको पुनः बोलपत्र आह्वान गरिएको हो ।

मिलेनियम च्यालेञ्ज कर्पोरेशन ९एमसीसी० नेपाल कम्प्याक्ट कार्यक्रमअन्तर्गत निर्माण गरिने उक्त प्रसारणलाइनले नेपालको विद्युत् प्रसारण सञ्जाललाई सशक्तीकरण गर्नेछ ।

लप्सीफेदी–रातमाटे–नयाँ हेटौँडा, रातमाटे–नयाँ दमौली र नयाँ दमौली–नयाँ बुटवल गरी तीनवटा खण्डमा विभाजन गरिएको उक्त प्रसारणलाइन निर्माणका लागि बोलपत्र प्रस्तुत गर्ने समयसीमा २०८१ साल माघ १७ गते तोकिएको छ ।

अघिल्लो बोलपत्र आह्वान प्रक्रियाको विस्तृत समीक्षापछि पुनःआह्वान गरिएको यस बोलपत्रमा परिमार्जित डिजाइन, टावर निर्माणस्थलमा सहज पहुँच र बोलपत्रदाताहरूको सुझावका आधारमा संशोधित व्यावसायिक प्रावधान समेटिएको छ । यी समायोजनले थप कार्यान्वयनयोग्य र लागत–प्रभावकारी प्रस्तावहरू प्राप्त हुने सुनिश्चित गर्दै अघिल्लो बोलपत्र आह्वानमा पहिचान गरिएका मुख्य लागत निर्धारकहरूलाई सम्बोधन गरेका छन् ।

एमसीए–नेपालले बुटवल–गोरखपुर प्रसारणलाइनअन्तर्गत नेपालमा पर्ने १८ किमि प्रसारणलाइन निर्माणका लागि १२३।६० लाख अमेरिकी डलरको सम्झौता ट्रान्सरेल लाइटिङ लिमिटेडसँग २०८१ साल भदौ १४ गते गरिसकेको छ । उक्त प्रसारणलाइन २१ महिनाको अवधिमा निर्माण गरिनेछ ।

“निर्माणाधीन प्रसारणलाइनमध्ये १८ किमि खण्डको निर्माणका लागि सम्झौता सम्पन्न भइसकेको वर्तमान अवस्थामा परिमार्जित प्रावधानहरूका कारण बाँकी २९७ किमि प्रसारणलाइन निर्माणका लागि बोलपत्रदाताहरूको अभिरुचि उल्लेख्य रूपमा बढ्ने र प्रतिस्पर्र्दात्मक बोलपत्रहरू आकर्षित हुने कुरामा हामी विश्वस्त छौँ,” एमसीए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले भने ।

तीनवटा ४०० केभी सबस्टेशन र १८ किमि प्रसारणलाइन निर्माण कार्यमा निर्माण कम्पनीहरू परिचालन गरिसकेको एमसीए–नेपाल नेपालको ऊर्जा पूर्वाधारलाई थप सशक्त बनाउनका लागि बाँकी प्रसारणलाइन खण्डको निर्माण पनि सम्पन्न गर्ने सही मार्ग रहेको स्पष्ट भएको छ ।

एमसीए–नेपाल नेपाल सरकार तथा एमसीसीका वातावरणीय एवं सामाजिक मापदण्डको पालना गर्दै यस खरिद कार्य र प्रसारणलाइन निर्माण कार्यलाई सफलतापूर्वक सम्पन्न गर्न प्रतिबद्ध छ ।