images

मङ्सिर २४ देखि २७ सम्म ‘मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ हुँदै

काठमाडौँ, १३ मङ्सिर – नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको ‘लाइनअप’ सार्वजनिक गरिएको छ । बाह्रौँ संस्करणको महोत्सव यही मङ्सिर २४ देखि २७ गतेसम्म चल्ने र नेपालसहित २३ देशका ४७ चलचित्र छनोटमा रहेको महोत्सवका निर्देशक पाण्डव खत्रीले जानकारी दिनुभयो ।
“यसपटकको संस्करणमा अन्तर्राष्ट्रियस्तरमा ख्यातिप्राप्त चलचित्रसमेत सहभागी हुन् आएका छन्, मानव अधिकारसँग सम्बन्धित चलचित्रहरुको प्रवद्र्धन र प्रदर्शनका लागि नियमित रुपमा महोत्सव गर्दै आएको छौँ”, निर्देशक खत्रीले भन्नुभयो ।
उहाँले ‘अल वी इमाजिन एज लाईट’, ‘द म्यान हु कुडनट रिमेन्न साइलेन्स’, ‘एन आउटरन’, ‘अनार दाना’,‘ओटिट’लगायतका चलचित्रको सहभागिताले महोत्सवको रौनकता बढाएको बताउनुभयो ।
सन् २००९ मा स्थापना भएको मानव अधिकार चलचित्र केन्द्रले आयोजना गर्ने यस महोत्सवमा मानव अधिकारको पैरवीका लागि विभिन्न अन्तरक्रिया तथा गोष्ठी पनि आयोजना गरिरहेको छ । महोत्सव काठमाडौँको चलचित्र विकास बोर्डको सभाहल र नेपाल पर्यटन बोर्डको सभाहलमा सञ्चालन हुने आयोजकले जानकारी दिएका छन् । रासस