images
images

प्रितम सिंहबारे दिएको अभिव्यक्तिलाई लिएर बबन्डर मच्चाउन खोजियो : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पुस्तक विमोचनमा सरदार प्रितम सिंहको बारेमा दिएको अभिव्यक्तिलाई लिएर बबण्डर मच्चाउन खोजिएको आरोप लगाउनुभएको छ ।

बुधबार अनेरास्ववियु क्रान्तिकारीको प्रशिक्षण कार्यक्रमलाई काठमाडौंमा सम्बोधन गर्दै उहाँले सोमबार लेखक किरणदीप सन्धुद्वारा लिखित पुस्तक ‘रोड्स टु द भ्याली’(द लिगेसी अफ सरदार प्रीतम सिंह इन नेपाल)को विमोचन कार्यक्रममा प्रितम सिंहले बोलेको कुरा आफूले बोलेको भएपनि त्यसमाथि नै बबण्डर मच्चाउन खोजिएको बताउनुभएको हो ।

प्रधानमन्त्री दाहालले आफूले पुस्तक विमोचन कार्यक्रममा उहाँ सामाजिक सेवा र यातायातको क्षेत्रमा मात्रै नभइ राजनीतिमा पनि चासो राख्ने व्यक्ति भएको र आफूलाई प्रधानमन्त्री बनाउनका लागि कहिले दिल्ली, कहिले नेपालका पार्टीहरुसँग लाग्नुहुन्थ्यो भन्ने अभिव्यक्ति दिएको बताउनुभयो । प्रधानमन्त्री दाहालले बेलुनरुपी बबण्डर चाँडै फुट्ने पनि स्पष्ट पार्नुभयो । उहाँले यस कुराले विपक्षीमा कति धेरै विक्षिप्तता छ, कति धेरै पूर्वाग्रह छ भन्नेकुरा प्रमाणित गर्ने बताउनुभयो ।

प्रधानमन्त्री दाहालले चाँडै नै माओवादीहरु एउटै केन्द्रमा आउने र सबै संगठन एउटै केन्द्रमा आएर नयाँ समाजवादी आन्दोलन सुरु गर्ने बताउनुभयो । प्रधानमन्त्री दाहालले जनताका मुद्दा बोकेर हिँड्दा सरकारबाट कसैले हल्लाउन नसक्ने बताउनुभयो । उहाँले २०८४ को निर्वाचनमा २०६४ सालमा जितेको सिट भन्दा बढी जित्ने दाबी गर्नुभयो ।